Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

दसैंको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

दसैंको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

नेपाल सम्वत् ११४६, यंलागाः १०, नवमी (२० असोज २०८३, ६ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । यस वर्षको बडादशैंअन्तर्गत विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार सो दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरी बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सकिनेछ। टीका लगाउँदा पश्चिम मोहडा फर्केर बस्नुपर्ने समितिले जनाएको छ।

विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि उक्त समय निर्धारण गरिएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। राज्य सञ्चालकले भने समितिले निर्धारण गरेको शुभ साइतमै मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्नुपर्ने उहाँले बताउनुभयो।

नेपालका विभिन्न भागमा दशैंको टीका तथा आशीर्वाद कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्ने परम्परा छ भने कतिपय स्थानमा विजयादशमीकै दिन मात्र टीका लगाउने चलन रहेको छ।

असोज २५ गते घटस्थापना

यस वर्षको नवरात्र असोज २५ गते आइतबारदेखि सुरु हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत उत्तम रहेको समितिले जनाएको छ।

यस दिन चित्रा नक्षत्र र वैधृति योगसमेत रहेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिका अध्यक्ष भट्टराईले बताउनुभयो।

असोज २६ गते सोमबार झण्डा फेर्ने उत्तम साइत बिहान १०ः०७ बजे रहेको छ। झण्डा फेर्दा पनि पश्चिम मोहडा गरेर फेर्नुपर्ने समितिले जनाएको छ।

असोज २९ गते बिहीबार पचलीभैरव यात्रा हुनेछ। असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ। सोही दिन बिहान ७ः३७ बजे तुलजा भवानी यात्राको साइत रहेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजे रहेको समितिले जनाएको छ।

अष्टमीदेखि महानवमीसम्म विभिन्न पर्व

कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ। सोही दिन राति कालरात्रि पर्व मनाइनेछ। कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ भने कात्तिक ३ गते मंगलबार महानवमी पर्व परेको छ।

कात्तिक ४ गते बुधबार विजयादशमी मनाइनेछ। बडादशैंको मुख्य दिनका रूपमा रहेको यस दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ भने बिहान १०ः२६ बजे टीका लगाउने उत्तम साइत निर्धारण गरिएको छ।

यसै दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत रहेको छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः५२ बजे रहेको समितिले जनाएको छ। खड्गयात्रा पनि विजयादशमीकै दिन हुनेछ।

कोजाग्रत पूर्णिमासँगै दसैं समापन

कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ। सोही दिन कोजाग्रतव्रत तथा पूर्णिमा व्रत परेको छ। बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा तथा आराधना गरेपछि १५ दिन लामो दुर्गापक्ष अर्थात् दसैं पर्व समापन हुनेछ।

कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ।

नेपालको राष्ट्रिय पर्वका रूपमा मनाइने बडादशैंमा देशभर उल्लासको वातावरण बन्ने गर्छ। रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका क्रममा आफ्नो थातथलोभन्दा टाढा रहेका नेपालीहरू मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न घर फर्कने गर्छन्।

शरद ऋतुको रमाइलो मौसममा मनाइने दसैंमा नवदुर्गा भवानीको पूजा–आराधनासँगै पारिवारिक भेटघाट, शुभकामना आदानप्रदान र मनोरञ्जनलाई विशेष महत्व दिइन्छ। दसैंमा बालबालिकादेखि वृद्धवृद्धासम्म उत्साहित हुने गरेका छन्। बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने तथा नयाँ कपडा लगाएर रमाइलो गर्ने गर्छन्।

दसैं नजिकिएसँगै बजारमा पनि चहलपहल बढ्न थालेको छ। राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा समेत चिनिने दसैंमा बजार तथा पसलहरूमा उपभोक्ताको भीड बढ्ने गर्छ। सरकारले सर्वसाधारणलाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन दसैं–तिहार लक्षित सुपथ मूल्य पसलसमेत सञ्चालन गर्दै आएको छ।

दसैंका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ। विभिन्न शक्तिपीठमा श्रद्धालुले पूजा–आराधना गर्नुका साथै परम्पराअनुसार बलिसहित देवीको उपासना गर्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार