Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

कांग्रेस १५औँ महाधिवेशन : ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली, आजै उम्मेदवारी दर्ता

कांग्रेस १५औँ महाधिवेशन : ७ हजार ११४ प्रतिनिधिको अन्तिम नामावली, आजै उम्मेदवारी दर्ता

नेपाल सम्वत् ११४६, यंलागाः १०, नवमी (२० असोज २०८३, ६ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले नामावली सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया थप अघि बढेको हो। कांग्रेसको आधिकारिक सूचनाअनुसार निर्वाचन प्रयोजनका लागि महाधिवेशन प्रतिनिधि तथा मतदाताको नामावली प्रकाशन गरिएको छ।

सार्वजनिक नामावलीअनुसार निर्वाचनमा सहभागी हुने प्रतिनिधिको संख्या ७ हजार ११४ कायम भएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज उम्मेदवारी मनोनयन दर्तालगायतका निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ। निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार मतदाता नामावलीमाथि दाबी–विरोध, त्यसउपर जाँचबुझ र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा गरिएको हो।

अब उम्मेदवार मनोनयन दर्ताको प्रक्रिया सुरु हुनेछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखेको जनाएको छ।

२९७ सदस्यीय केन्द्रीय कार्यसमिति

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रले संशोधित विधान पारित गरेसँगै अब २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। संशोधित व्यवस्थाअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहने व्यवस्था गरिएको छ। उपसभापति र महामन्त्रीमा महिला प्रतिनिधित्वसमेत अनिवार्य गरिएको छ।

यसैअनुसार १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने तयारी भइरहेको छ।

२०० भन्दा बढी स्वयंसेवक परिचालन

महाधिवेशनमा सहभागी प्रतिनिधिको सहजताका लागि कांग्रेसले २०० भन्दा बढी स्वयंसेवक परिचालन गरेको जनाएको छ। कांग्रेस केन्द्रीय सदस्य तथा स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार बन्दसत्र तथा निर्वाचन हुने स्थलमा प्रतिनिधिलाई आवश्यक सहयोग र समन्वयका लागि स्वयंसेवक खटाइएको छ।

महाधिवेशनमा देश तथा विदेशबाट आएका प्रतिनिधिको व्यवस्थापनलाई सहज बनाउन विभिन्न स्थानमा स्वयंसेवक परिचालन गरिएको हो।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम अघि बढिरहेका बेला नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरू मनोनयन तथा प्रचारप्रसारको तयारीमा जुटेका छन्। निर्वाचन समितिको कार्यतालिकाअनुसार २२ असोजमा मतदान हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार