नेपाल सम्वत् ११४६, यंलागाः १०, नवमी (२० असोज २०८३, ६ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२ स्थित दोलखा स्वास्थ्य चौकीमा सञ्चालन हुँदै आएको २४ घण्टे निःशुल्क प्रसूति सेवा (बर्थिङ सेन्टर) बन्द गरी अन्यत्र सार्ने नगरपालिकाको निर्णयविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन्।
पुर्खाहरूको लामो संघर्षबाट स्थापित सरकारी स्वास्थ्य सेवालाई निजी संस्थाको विकल्पमा बन्द गर्न खोजिएको भन्दै स्थानीयवासी, नागरिक समाज तथा बुद्धिजीवीहरूले विरोध जनाएका हुन्। उनीहरूले मंगलबार व्यापक हस्ताक्षर संकलन गरी भीमेश्वर नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
नगरपालिकाका प्रमुख र उपप्रमुख अनुपस्थित रहेको अवस्थामा स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूको टोलीले भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझ्दै वडा अध्यक्ष श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृतले स्थानीय जनभावना तथा सरोकारवालासँग पर्याप्त छलफल नगरी बर्थिङ सेन्टरका सामग्री वा कर्मचारी अन्यत्र स्थानान्तरण नगर्ने प्रतिबद्धता जनाएका छन्। वडा अध्यक्ष श्रेष्ठले स्थानीयवासीको माग जायज रहेको भन्दै उनीहरूसँग परामर्श नगरी कुनै पनि निर्णय कार्यान्वयन नगरिने बताएका छन्।
स्थानीयवासीले विगतमा भवन अभावको कारण देखाउँदै सदरमुकाम चरिकोट सारिएको घरेलु कार्यालयको उदाहरणसमेत प्रस्तुत गरेका छन्। कार्यालय सारिएको करिब १० वर्ष बितिसक्दा र करोडौँ रुपैयाँ खर्च गरेर नयाँ भवन निर्माण भइसक्दा पनि सेवा साविक स्थानमा फिर्ता नभएको उनीहरूको गुनासो छ।
सरकारी स्वास्थ्य सेवाको विकल्प निजी संस्था हुन नसक्ने भन्दै स्थानीयवासीले बर्थिङ सेन्टरलाई साविककै स्थानमा निरन्तरता दिनुपर्ने माग गरेका छन्। नगर कार्यपालिकाको ५९औँ बैठकको निर्णय नम्बर ११ मार्फत बर्थिङ सेन्टर बन्द गर्ने प्रक्रिया अघि बढाइएको भन्दै उनीहरूले निर्णय तत्काल पुनर्विचार गर्न माग गरेका छन्।
स्थानीयवासीले निःशुल्क तथा सहज प्रसूति सेवा बन्द गरिए ग्रामीण तथा विपन्न परिवारका गर्भवती महिलाहरू प्रत्यक्ष प्रभावित हुने बताएका छन्। सेवा अन्यत्र सार्दा विशेषगरी रातिको समयमा गर्भवती महिला तथा परिवारले थप आर्थिक र भौतिक समस्या झेल्नुपर्ने उनीहरूको भनाइ छ।
सरकारी स्वास्थ्य सेवा नागरिकको मौलिक आवश्यकता भएकाले स्थानीयको पहुँचमा रहेको बर्थिङ सेन्टरलाई कमजोर बनाउनुको सट्टा आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार थप गरी सेवा अझ प्रभावकारी बनाउनुपर्ने स्थानीयवासीको माग छ।
नगरपालिकाले स्थानीय सरोकारवालासँग सहमति र पर्याप्त छलफल नगरी सेवा बन्द गर्ने निर्णय कार्यान्वयन गरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत स्थानीयवासीले दिएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij