नेपाल सम्वत् ११४६, यंलागाः १०, नवमी (२० असोज २०८३, ६ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेनजी तथा युवा प्रतिनिधिहरू पार्टीले नयाँ पुस्तालाई दिएको प्राथमिकताप्रति उत्साहित देखिएका छन्। विधान संशोधनमार्फत केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा अनिवार्य निर्वाचित हुने व्यवस्था गरिएपछि युवाहरूले यसलाई कांग्रेसको रूपान्तरणको महत्वपूर्ण संकेतका रूपमा लिएका छन्।
महाधिवेशनको बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ पुस्ताको भावना समेट्न १८ वर्षभन्दा माथि र २१ वर्षभन्दा कम उमेर समूहका युवालाई समेटेर ‘युथ काउन्सिल’ गठन गर्ने प्रस्तावसमेत गरिएको छ। युवालाई पार्टीमा आकर्षित गर्ने उद्देश्यले अघि सारिएका यी प्रावधान सकारात्मक रहेको युवा प्रतिनिधिहरूको प्रतिक्रिया छ।
तनहुँबाट महाधिवेशन प्रतिनिधि रहेका जेनजी समूहका अनुप आलेमगर कक्षा ११ मा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएका थिए। हाल स्नातकोत्तर तहमा अध्ययनरत आलेमगरले सभापति थापाको नेतृत्वमा कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया अघि बढिरहेको बताए।
उनका अनुसार ३५ वर्षमुनिका युवालाई केन्द्रीय नेतृत्वमा अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था कांग्रेसमा परिवर्तनको स्पष्ट संकेत हो। उनले पार्टी नेतृत्वले अघि सारेको रूपान्तरणको अभियानले युवापुस्तालाई समेट्दै देश निर्माणमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
काठमाडौँ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि सुनाबहादुर तामाङले कांग्रेसले पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ता तथा जेनजीलाई समेत साथमा लिएर अघि बढ्नुपर्ने बताए। जेनजी आन्दोलनपछि युवालाई पार्टीको मूलधारमा समेट्नुपर्ने आवश्यकता महसुस भएको र कांग्रेसले त्यसलाई सम्बोधन गर्न थालेको उनको भनाइ छ।
प्युठानबाट प्रतिनिधि रहेका कुमार आचार्यले कांग्रेसमा नयाँ प्रकारको उभार आउने अपेक्षा व्यक्त गरे। पार्टीमा युवा सहभागिता बढ्नुका साथै द्वन्द्वपीडित र महिलाको प्रतिनिधित्वसमेत वृद्धि भएकाले अब कांग्रेस विगतकै शैलीमा सीमित नरहने उनको विश्वास छ।
धनकुटाकी महाधिवेशन प्रतिनिधि करुणा कटुवालले अग्रजको अनुभव, युवाको ऊर्जा र महिलाको नेतृत्वलाई एकसाथ अघि बढाउने कांग्रेस आवश्यक रहेको बताइन्। १४औँ महाधिवेशनमा प्रतिनिधि बन्न कठिन भएको अनुभव सुनाउँदै उनले यसपटक विधानमै आफ्नो पुस्ताको प्रतिनिधित्व सुनिश्चित गरिनु सकारात्मक भएको बताइन्।
बैतडीकी महाधिवेशन प्रतिनिधि भागीरथी भट्टले युवापुस्ताको प्रतिनिधित्व बढाएर कांग्रेसले ‘सुध्रिएको कांग्रेस’ भन्ने नारालाई सार्थक बनाउँदै गएको बताइन्। केन्द्रीय समितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्यको व्यवस्था तथा प्रत्येक निर्वाचन क्षेत्रबाट युवाको प्रतिनिधित्व बढाइनुले कांग्रेस परिवर्तनको दिशामा अघि बढेको उनको भनाइ छ।
सिन्धुपाल्चोक–२ का महाधिवेशन प्रतिनिधि दिपेशराज खनालले युवाको प्रतिनिधित्व बढेसँगै कांग्रेसप्रति नयाँ पुस्ताको आकर्षण बढ्ने विश्वास व्यक्त गरे। पुराना राजनीतिक दलप्रति युवामा देखिएको वितृष्णाको भाष्यलाई १५औँ महाधिवेशनले चिर्ने र कांग्रेसलाई युवामैत्री पार्टीका रूपमा स्थापित गर्ने उनको अपेक्षा छ।
पर्वतका प्रतिनिधि सुनील शर्माले पनि १५औँ महाधिवेशनबाट रूपान्तरित कांग्रेस निर्माण हुने अपेक्षा व्यक्त गरे। विगतमा कांग्रेसलाई पुरानो पुस्ताको पार्टीका रूपमा बुझ्ने गरिएको भए पनि पछिल्लो समय युवा नेतृत्वको लहर देखिन थालेको भन्दै उनले अब कांग्रेस जनताको घरआँगनमा पुगेर नयाँ विश्वास कायम गर्नुपर्ने बताए।
युवा प्रतिनिधिहरूले कांग्रेसमा पुस्तान्तरणसँगै अग्रजको अनुभव र युवाको ऊर्जालाई संयोजन गर्न सके पार्टी अझ सशक्त बन्ने बताएका छन्। १५औँ महाधिवेशनबाट युवाको प्रतिनिधित्व, महिला सहभागिता र समावेशी नेतृत्वलाई संस्थागत गर्दै कांग्रेसले नयाँ पुस्ताको विश्वास जित्नुपर्ने उनीहरूको साझा धारणा छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij