नेपाल सम्वत् ११४६, यंलागाः ९, नवमी (१९ असोज २०८३, ५ अक्टोबार, २०२६) सोमबार, बाँपिझ्याला । सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा पदबाट निलम्बन गरेको छ। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको आरोपमा छानबिन अघि बढाउँदै निलम्बन गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सोमबार विज्ञप्ति जारी गर्दै निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत कार्य गरेको देखिएपछि दाहाललाई निलम्बन गरिएको जानकारी दिएका छन्।
दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोप सशस्त्र प्रहरी बलले लगाएको छ। उक्त आरोपबारे आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।
सशस्त्र प्रहरीको सिफारिसपछि गृह मन्त्रालयले सोमबार बसेको बैठकबाट दाहालमाथि औपचारिक छानबिन अघि बढाउने निर्णय गरेको हो। मन्त्रालयले घटनाको जाँचबुझ गर्न एक जना जाँचबुझ अधिकृतसमेत तोकेको छ।
जाँचबुझ अधिकृतलाई तीन दिनभित्र आवश्यक छानबिन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ। उक्त प्रतिवेदनका आधारमा दाहालमाथि थप कारबाही गर्ने वा नगर्ने सम्बन्धमा निर्णय हुने बताइएको छ।
गृह मन्त्रालयले सुरक्षा निकाय तथा मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। विशेषगरी संवेदनशील तथा गोप्य सूचना चुहावट, सुरक्षा व्यवस्थामा असर पार्ने गतिविधि र कानुनविपरीतका कार्यलाई मन्त्रालयले गम्भीर रूपमा लिएको जनाएको हो।
प्रवक्ता काफ्लेका अनुसार मन्त्रालयले मातहतका कर्मचारीबाट हुने गतिविधिको सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको छ। सुरक्षा संवेदनशीलतासँग जोडिएका सूचना अनधिकृत रूपमा बाहिरिने अवस्था रोक्न सम्बन्धित निकायलाई समेत सचेत गराइएको छ।
गृह मन्त्रालयले कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न व्यक्तिमाथि पद, जिम्मेवारी वा हैसियतका आधारमा छुट नदिने स्पष्ट पारेको छ।
प्रवक्ता काफ्लेले कानुनविपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएका छन्।
एआईजी दाहालमाथिको छानबिन छोटो समयमै पूरा गरी प्रतिवेदन बुझाउने तयारी गरिएको छ। अब जाँचबुझबाट संवेदनशील सूचना चुहावट भएको आरोप पुष्टि हुन्छ वा हुँदैन भन्ने विषयले उनको आगामी जिम्मेवारी र कारबाहीको अवस्थालाई निर्धारण गर्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij