नेपाल सम्वत् ११४६, यंलागाः ११, नवमी (२१ असोज २०८३, ७ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । दसैँ आउन दुई साता बाँकी रहँदै काठमाडौँबाट बाहिरिने आन्तरिक हवाई उडानको टिकट बुकिङमा उल्लेख्य वृद्धि भएको छ। बाढीपहिरोका कारण प्रमुख राजमार्गहरूमा क्षति पुगेपछि सडकमार्गको विकल्पका रूपमा यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भएका हुन्।
वायुसेवा कम्पनीहरूका अनुसार दसैँको मुख्य यात्रा अवधि सुरु हुनुअघि नै अधिकांश गन्तव्यका सस्ता हवाई टिकट बुक भइसकेका छन्। विशेषगरी पोखरा, विराटनगर, भैरहवा, धनगढी, नेपालगन्ज र भद्रपुरलगायत गन्तव्यमा यात्रुको चाप अत्यधिक देखिएको छ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार दसैँका लागि काठमाडौँबाट बाहिरिने उडानमा टिकटको माग तीव्र रूपमा बढेको छ। बुद्ध एयरले पर्वतीय उडानबाहेक काठमाडौँबाट ११ वटा गन्तव्यमा दैनिक एकतर्फी करिब ७० उडान गर्दै आएको छ।
कर्णका अनुसार दसैँ तथा सडक आवागमन सहज नहुँदासम्म यात्रुलाई सहज होस् भन्ने उद्देश्यले कम्पनीले न्यूनतम तथा सस्तो भाडादरमा समेत उडान गरिरहेको छ। उनका अनुसार अधिकांश गन्तव्यका दसैँका मुख्य दिनका टिकट बिक्री भइसकेका छन् भने काठमाडौँ फर्किने टिकट भने तुलनात्मक रूपमा उपलब्ध छन्।
विशेषगरी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरा, विराटनगर, भैरहवा, धनगढी, नेपालगन्ज, भद्रपुरलगायत प्रमुख गन्तव्यका अधिकांश टिकट बुक भइसकेका छन्। उक्त अवधिमा सस्तो भाडादरका टिकट पाउन कठिन भइसकेको वायुसेवा कम्पनीहरूले जनाएका छन्।
यती एयरलाइन्सले पनि दसैँका लागि आफ्नो कुल टिकटमध्ये ८० प्रतिशतभन्दा बढी बिक्री भइसकेको जनाएको छ। कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार पर्वतीय उडानबाहेक यतीले हाल सातवटा गन्तव्यमा दैनिक दुईतर्फी करिब ६० उडान गर्दै आएको छ। अब तुलनात्मक रूपमा महँगो भाडादरका करिब २० प्रतिशत टिकट मात्र बाँकी रहेको उहाँले बताउनुभयो।
बर्तौलाका अनुसार पोखरा, विराटनगर र भैरहवातर्फ यात्रुको चाप अत्यधिक छ। विगतमा दसैँ तथा पर्यटकीय सिजन सुरु भएसँगै हवाई यात्रु बढ्ने गरे पनि यस वर्ष सडकमार्गको अनिश्चितताले हवाई यात्रामा थप चाप बढाएको उहाँको भनाइ छ।
त्यस्तै, श्री एयरलाइन्सका प्रवक्ता एवं बजार व्यवस्थापक अनिल मानन्धरले पनि काठमाडौँबाट बाहिरिने उडानमा यात्रुको चाप अत्यधिक रहेको बताउनुभयो। श्री एयरलाइन्सले हाल काठमाडौँबाट सातवटा गन्तव्यमा दैनिक एकतर्फी करिब २५ उडान गर्दै आएको छ भने ती गन्तव्यका करिब ७० प्रतिशत टिकट बुकिङ भइसकेका छन्।
दसैँ नजिकिँदै जाँदा सडकमार्ग पूर्ण रूपमा सहज हुन नसकेको अवस्थामा काठमाडौँबाट बाहिरिने हवाई उडानमा यात्रुको चाप अझै बढ्ने वायुसेवा कम्पनीहरूको अनुमान छ। यसले दसैँको मुख्य यात्रा अवधिमा हवाई टिकटको मागसँगै भाडादरमा समेत थप दबाब पर्न सक्ने देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij