Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

अजयबाबु शिवाकोटी कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा

अजयबाबु शिवाकोटी कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा

नेपाल सम्वत् ११४६, यंलागाः ७, सप्तमी (१७ असोज २०८३, ३ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला ।  नेपाली कांग्रेस दोलखाका युवा नेता तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुने महाधिवेशनमा शिवाकोटीले सहमहामन्त्री पदका लागि आफ्नो दावेदारी प्रस्तुत गर्ने तयारी गरेका हुन्।

शिवाकोटी कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचन प्रक्रियामार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। गत पुसमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्यमा चयन भएका थिए।

सहमहामन्त्री पदमा आफ्नो दावेदारी स्वाभाविक रहेको बताउँदै शिवाकोटीले राजनीतिलाई थप चलायमान बनाउन नेतृत्व तहमा व्यक्तिको वृत्ति विकास पनि आवश्यक रहेको बताएका छन्। पार्टीमा थप जिम्मेवारी लिएर संगठनलाई प्रभावकारी बनाउन आफू इच्छुक रहेको उनको भनाइ छ।

कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको प्रमुखका रूपमा समेत काम गरेका शिवाकोटीले पार्टीको इतिहास, राजनीतिक दस्तावेज तथा महत्वपूर्ण सामग्रीको संरक्षण र अध्ययनका लागि विभागका गतिविधिलाई विस्तार गरेका थिए। उनले विभिन्न पुस्तक तथा सामग्री संकलन गर्नुका साथै पार्टीभित्र अध्ययन, बहस र विमर्शका लागि विभिन्न फोरमसमेत सञ्चालन गरेका थिए।

तर, जेन–जी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा भएको आगजनीबाट पुस्तकालयमा संकलित महत्वपूर्ण पुस्तक तथा दस्तावेज नष्ट भएको शिवाकोटीले बताउँदै आएका छन्। त्यसक्रममा प्रजातन्त्र सेनानीहरूको संघर्ष र योगदानसँग सम्बन्धित महत्वपूर्ण सामग्रीसमेत जलेर नष्ट भएको उनको भनाइ छ।

प्रजातन्त्र सेनानीहरूको योगदानलाई अभिलेखीकरण गर्ने अभियानलाई निरन्तरता दिँदै शिवाकोटीले आफ्ना हजुरबुबा नन्दप्रसाद शिवाकोटीको नाममा ‘नन्दप्रसाद जानुका फाउन्डेसन’ स्थापना गरेका छन्। फाउन्डेसनले हालसम्म तीनवटा पुस्तक प्रकाशन गरिसकेको छ। गत महिना मात्रै ‘दोलखाका लोकनायकहरू’ नामक पुस्तक सार्वजनिक गरिएको थियो।

कांग्रेस राजनीतिमा सक्रिय हुनुअघि पत्रकारितामा रहेका शिवाकोटी तत्कालीन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित चर्चित ७० करोड रुपैयाँ प्रकरणबारे समाचार लेखेपछि चर्चामा आएका थिए। उक्त प्रकरणपछि महरा र बाँस्कोटाले आ–आफ्नो पदबाट राजीनामा दिएका थिए।

नेपाल प्रेस युनियनको महासचिव बनेपछि कांग्रेसको मूलधारको राजनीतिमा सक्रिय भएका शिवाकोटी गत प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट कांग्रेसका उम्मेदवारसमेत बनेका थिए। पत्रकारिताका क्रममा भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा कलम चलाएका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनका लागि दोलखाबाट महाधिवेशन प्रतिनिधिसमेत चयन भइसकेका शिवाकोटीले यसपटक सहमहामन्त्री पदमा उम्मेदवारीको तयारी गरेका हुन्। उनको उम्मेदवारीले कांग्रेसको आगामी नेतृत्व चयनमा दोलखाको प्रतिनिधित्व र उनको राजनीतिक भूमिकालाई थप चर्चामा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार