Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

६२ दिनमा ६८ बैठक, प्रतिनिधिसभाको दोस्रो अधिवेशनले पारित गर्‍यो १२ विधेयक

६२ दिनमा ६८ बैठक, प्रतिनिधिसभाको दोस्रो अधिवेशनले पारित गर्‍यो १२ विधेयक

नेपाल सम्वत् ११४६, यंलागाः ६, षष्ठी (१६ असोज २०८३, २ अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । प्रतिनिधिसभाको दोस्रो अधिवेशन ६२ कार्यदिनमा ६८ वटा बैठक सम्पन्न गर्दै आज मध्यरातिदेखि अन्त्य हुँदैछ। अधिवेशनका क्रममा प्रतिनिधिसभाले २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय खर्चिएको छ।

गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशनको कुल अवधि १४५ दिन भए पनि संसदीय कार्यदिन भने ६२ दिन कायम भएको सभामुख डोलप्रसाद अर्यालले अधिवेशन अन्त्यअघि सदनलाई जानकारी गराउनुभयो।

यस अवधिमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक दुई पटक बसेका थिए। वैशाख २८ र जेठ १५ गते बसेका संयुक्त बैठकमा कुल दुई घण्टा ५५ मिनेट समय व्यतित भएको थियो।

अधिवेशनका क्रममा सरकारका विभिन्न ३५ वटा विधेयक प्रतिनिधिसभामा दर्ता भएका थिए। तीमध्ये आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिदसम्बन्धी विधेयक, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विधेयक, सहकारीसम्बन्धी विधेयकलगायत १२ वटा विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका छन्।

पारित भएका विधेयकमध्ये ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। २० वटा विधेयक भने प्रतिनिधिसभाका सम्बन्धित समितिमा विचाराधीन रहेको सभामुख अर्यालले जानकारी दिनुभयो।

अधिवेशनको सुरुवातमा सार्वजनिक खरिद, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था, संवैधानिक परिषद्, सम्पत्ति शुद्धीकरण, सहकारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालयलगायत विषयसँग सम्बन्धित अध्यादेश प्रस्तुत भएका थिए। तीमध्ये चार अध्यादेश असार ५ गतेको बैठकबाट स्वीकृत भएका थिए।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी वैशाख ३१ गते सर्वसम्मतिले पारित गरिएको थियो। विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता, आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, राजस्व तथा व्ययको वार्षिक अनुमान र विनियोजन विधेयकमाथि समेत सदनमा विस्तृत छलफल भएको थियो।

बाढीपहिरो र जलवायु परिवर्तनमा विशेष छलफल

अधिवेशनका क्रममा बाढीपहिरो, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका विषयले समेत संसद्मा प्राथमिकता पाएको थियो। भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेको कामबारे सदनमा जानकारी गराइएको थियो।

भदौ १७ गते बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको थियो।

त्यसैगरी, बाढी तथा जलवायु परिवर्तनका विषयमा थप अध्ययन गर्न असोज ५ गतेको बैठकले तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी १५ सदस्यीय ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गरेको थियो। समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुली चयन हुनुभएको थियो।

सात मन्त्रालयसँग १३ प्रश्नोत्तर

दोस्रो अधिवेशनमा प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार विभिन्न सात मन्त्रालयसँग सम्बन्धित १३ वटा प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएका थिए।

परराष्ट्र, युवा तथा श्रम तथा रोजगार, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको थियो।

अधिवेशनको अन्तिम बैठकमा जवाफ दिन बाँकी रहेका मन्त्रालयबाट प्राप्त १६ मौखिक र आठ लिखित प्रश्नका उत्तरसमेत टेबुल गरिएको थियो।

संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस

अधिवेशनका क्रममा महालेखापरीक्षक, महान्यायाधिवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सूचना आयोगलगायत विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन सदनसमक्ष पेस भएका थिए।

यस अवधिमा सांसदहरूले आकस्मिक, शून्य तथा विशेष समयमा उठाएका समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफसमेत दिएका थिए।

दोस्रो अधिवेशनमा पाँच वटा जरुरी सार्वजनिक महत्वका प्रस्ताव र तीन वटा सङ्कल्प प्रस्ताव दर्ता भएका थिए। भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, उचित क्षतिपूर्ति, पुनःस्थापना तथा लालपुर्जा वितरणसम्बन्धी प्रस्तावमाथि छलफलसमेत भएको थियो।

यसैगरी, विभिन्न बैठकमा विपक्षी दलका नेता तथा संसदीय दलका नेता र पदाधिकारीहरूले सरकार र संसद्बीचको समन्वय, सरकारको जवाफदेहिता, सुशासन, सेवा प्रवाह तथा विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

यसरी ६२ कार्यदिनमा ६८ बैठक, २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाही र १२ विधेयक पारित गर्दै प्रतिनिधिसभाको दोस्रो अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार