Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

नेपाल सम्वत् ११४६, यंलाथ्वः १५, चतुर्दशी –१० असोज २०८३, २६ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। उनी शनिबार केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले महासभाको बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका थिए।

महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको बढ्दो संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। उनले जलवायु संकटका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै नेपालजस्ता जलवायु संकट सिर्जनामा न्यून योगदान गरेका मुलुकले यसको ठूलो असर व्यहोर्नुपरेको बताएका थिए।

शाहले ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का असर नेपालसँगै चीन र भारतसम्म फैलिँदै गएको उल्लेख गरेका थिए।

उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राख्दै हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित मुलुक र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने बताएका थिए।

महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपालको प्राथमिकता, जलवायु संकट र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार