Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

कांग्रेस महाधिवेशन : असोज २२ गते मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

कांग्रेस महाधिवेशन : असोज २२ गते मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

नेपाल सम्वत् ११४६, यंलागाः ९, नवमी (१९ असोज २०८३, ५ अक्टोबार, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिले आइतबार जारी गरेको सूचनाअनुसार निर्वाचन प्रक्रिया असोज १९ गतेदेखि सुरु भई असोज २२ गते मतदान हुनेछ।

निर्वाचन समितिका अनुसार असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि बेलुका ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ। दाबी विरोधमाथि ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरिनेछ भने राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यसैगरी, असोज २० गते उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। मनोनयन दर्तापछि दिउँसो ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ।

प्रकाशित उम्मेदवारको नामावलीमाथि सोही दिन ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध गर्न सकिनेछ। दाबी विरोधमाथि ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरिएपछि बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

असोज २१ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन वा नाममा आवश्यक संशोधन गर्न बिहान ९ बजेसम्म निवेदन दिन सक्नेछन्। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

अन्तिम नामावली प्रकाशनपछि असोज २१ गते दिनभर उम्मेदवारलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ।

निर्वाचनको मुख्य दिन असोज २२ गते बिहान ७ः३० बजेदेखि मतदान सुरु हुनेछ। मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।

यससँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन हुँदै मतदानको प्रक्रिया पूरा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार