नेपाल सम्वत् ११४६, यंलागाः ४, चौथी (१४ असोज २०८३, ३० सेप्टेम्वर, २०२६) बुधबार बाँपिझ्याला । पत्रकार तथा सामाजिक अभियन्ता गोकर्णप्रसाद भण्डारीले आगामी दिनमा आफू सक्रिय दलगत राजनीतिमा नरहने घोषणा गरेका छन्। उनले अब आफ्नो सम्पूर्ण ध्यान पत्रकारिता र सामाजिक अभियानमा केन्द्रित गर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट गगन थापा पक्षधर हुँदै खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका भण्डारीले महाधिवेशन सम्पन्न भएपछि सक्रिय राजनीतिबाट अलग रहने निर्णय सार्वजनिक गरेका हुन्।
महाधिवेशनका क्रममा नेतृत्व चयन र प्रतिनिधि छनोटका विषयमा देखिएको गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक धारणा सार्वजनिक गरेका थिए। केही नेताहरूले विभिन्न व्यक्तिको नाम जबर्जस्त रूपमा अघि सार्दै अधिवेशन सम्पन्न गरेको भन्दै उनले अब आफू सक्रिय दलगत राजनीतिबाट टाढा रहने बताएका हुन्।
लामो समयदेखि पत्रकारिता, सामाजिक अभियान तथा विभिन्न सामाजिक संस्थामार्फत सार्वजनिक सरोकारका विषयमा सक्रिय रहँदै आएका भण्डारीले पत्रकारितालाई नै आफ्नो मुख्य कर्मका रूपमा अघि बढाउने बताएका छन्।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भण्डारीले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनले नेविसंघ लापिलाङ माध्यमिक विद्यालय इकाइ अध्यक्ष, गौरीशंकर बहुमुखी क्याम्पस इकाइ अध्यक्ष, ट्रेड युनियन कांग्रेस दोलखाका सचिव तथा नेपाल प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्षलगायतका जिम्मेवारी सम्हालिसकेका छन्।
पत्रकारितामा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका भण्डारीले विकास, सामाजिक सरोकार, सार्वजनिक चासो तथा दुर्गम क्षेत्रका नागरिकका विषयमा निरन्तर कलम चलाउँदै आएका छन्। पत्रकारितासँगै उनले दुर्गम क्षेत्रका विद्यार्थी तथा विपन्न परिवारका लागि सहयोग जुटाउने विभिन्न सामाजिक अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
‘राजनीतिक आस्था र सामाजिक सम्बन्ध आफ्नो ठाउँमा छन्, तर अब मेरो प्राथमिकता पत्रकारिता र सामाजिक अभियानमै रहनेछ,’ भण्डारीले भने।
सक्रिय दलगत राजनीतिबाट अलग रहे पनि लोकतन्त्र, सामाजिक न्याय, विकास र सार्वजनिक सरोकारका विषयमा आफ्नो कलम तथा सामाजिक अभियानमार्फत निरन्तर योगदान गरिरहने उनको भनाइ छ।
भण्डारीको यो निर्णयसँगै उनले आफ्नो लामो राजनीतिक यात्रालाई औपचारिक रूपमा विश्राम दिँदै पत्रकारिता र सामाजिक सेवामार्फत सार्वजनिक जीवनमा सक्रिय रहने संकेत गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij