नेपाल सम्वत् ११४६, तछलागाः ५ पञ्चमी (२१ अषाढ, २०८३, ०५ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना भएको आरोपमा विद्यालयकी तत्कालीन लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका निकटस्थ लीला लामालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सशस्त्र प्रहरी बलको अनुरोधका आधारमा शनिबार उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
सशस्त्र प्रहरी बलले डिआइजी युवराज अर्यालको नेतृत्वमा गठन गरेको छानबिन समितिले गुरुङले विद्यालयको रकम गैरकानुनी रूपमा अपचलन गरेको निष्कर्ष निकालेपछि कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो। त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर बयान र अन्य प्रमाण संकलनको काम सुरु गरेको हो।
अनुसन्धानका क्रममा इन्स्पेक्टर गुरुङले विद्यालयको रकम पटक–पटक आफ्ना निकटस्थ लीला लामाको बैंक खातामा स्थानान्तरण गरेको खुलेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त रकम लामाले आफ्नो रेस्टुरेन्ट तथा ट्राभल व्यवसायमा लगानी गरेका थिए। व्यवसायबाट रकम फिर्ता आउने अपेक्षा गरिए पनि घाटा भएपछि विद्यालयको पैसा फिर्ता गर्न नसकिएको स्रोतले जनाएको छ। छानबिनका क्रममा दुवैले रकम अपचलन गरेको स्वीकार गरेको बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले सशस्त्र प्रहरीको पत्रका आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार घटनामा आपराधिक लाभसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने सम्भावनालाई समेत ध्यानमा राखेर अनुसन्धान भइरहेको छ।
प्रारम्भिक छानबिनले इन्स्पेक्टर गुरुङ करिब छ वर्षसम्म विद्यालयको लेखा शाखामा कार्यरत रहेको देखाएको छ। यति ठूलो रकम एक्लैले अपचलन गर्न सम्भव नदेखिएकाले अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको छ।
यस प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्ट दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको भूमिकामाथि पनि छानबिन भइरहेको छ। उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभए पनि आर्थिक कारोबारको निगरानी र जिम्मेवारीका विषयमा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
अनुसन्धानका क्रममा विद्यालयबाट सशस्त्र प्रहरीको कल्याण कोषमा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा सारिएको, कतिपय अवस्थामा कल्याण कोषमा रकम जम्मा नगरी जम्मा गरेको भौचर मात्र पेश गरिएको तथा वर्षौंसम्म लेखापरीक्षणबाट समेत अनियमितता लुकाइएको प्रारम्भिक निष्कर्ष छ। यस विषयमा कल्याण शाखाका कर्मचारीहरूको भूमिकामाथि पनि अनुसन्धान हुने भएको छ।
घटनामा बैंकिङ प्रक्रियामाथि समेत प्रश्न उठेको छ। विद्यालयको खाता एनआईसी एशिया बैंकको कीर्तिपुर शाखामा भए पनि रकम लाजिम्पाट शाखाबाट निकालिएको र केही कारोबारमा आवश्यक प्रक्रिया पूरा नगरिएको आशंका गरिएको छ। यस विषयमा बैंकका सम्बन्धित कर्मचारीसँग समेत सोधपुछ गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
प्रहरीले बैंक खाताको विवरण, आर्थिक कारोबार, डिजिटल प्रमाण तथा अन्य कागजातको परीक्षण गरिरहेको छ। अनुसन्धानबाट थप प्रमाण फेला परे अन्य व्यक्ति पनि कानुनी दायरामा आउने सम्भावना रहेको प्रहरी स्रोतको भनाइ छ। यो प्रकरणलाई सशस्त्र प्रहरी बलभित्र हालसम्म सार्वजनिक भएका ठूला आर्थिक अनियमिततामध्ये एकका रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij