
सुनी प्रधान, दोलखा
नेपाली हिन्दु परम्परा अनुसार आज तिज, परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलन रहेको छ ।

यसै गरी धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक रुपमा श्रीमान्को दीर्घायुको कामनाका लागि ब्रत बस्ने मान्यता परम्परा रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक जनविश्वास रहेको छ ।
यसै सन्दर्भमा विशेषतः शैक्षिक क्षेत्र र वित्तिय संस्थाहरुमा नेपाली महिला दिदीबहीनीहरुको बर्चश्व रहेको देखिन्छ । यो तथ्यलाई आजको दिनले सावित गरेको छ । धेरैभन्दा धेरै शैक्षिक संस्थानहरु बन्द गरिएको छ भने खोलेका बित्तिय कारोवार गर्ने बैङ्कीङ क्षेत्रमा महिलाको उपस्थिती न्युन अर्थात शुन्य रहेको छ । यसै गरी हरेक क्षेत्रमा महिलाले माग गरे अनुसारको ५० प्रतिशतभन्दा पनी शैक्षिक र वित्तिय क्षेत्रमा जस्तै अन्य क्षेत्रमा पनी नेपाली महिलाहरुको सहभागीताको आवश्यकता रहेको छ ।
हुनत, आज नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । यो दिनु नै पर्ने स्वभाविक रुपमा राम्रै निर्णय सरकारले गरेको देखिन्छ । यसरी हरेका क्षेत्रमा नेपाली महिला दिदीबहीनीहरुको उपस्थिती र सहभागीता स्वयम स्वईच्छाले हुने हो भने भोलीका दिनमा शैक्षिक र वित्तिय क्षेत्रमा जस्तै अन्य क्षेत्रमा पनी महिलाको सहभागीता आफै बढ्दै जाने थियो । यसले देश विकासमा महत्वपूर्ण विकासमा टेवा पुग्ने थियो । फेरी अन्य क्षेत्रमा महिलाको सहभागी छैन भन्न खोजिएको भने होईन तर शैक्षिक र वित्तिय संस्थानहरुमा जस्तो अन्य क्षेत्रमा बढी महिला दिदीबहीनीहरुको सहभागीता छैन भन्न मात्र खोजिएको हो ।
तिज र ब्रत :
पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग आजको दिन उपत्यकामा पशुपतिनाथ मन्दिर, दोलखामा भीमेश्वर मन्दिर चरिकोटमा पशुपती मन्दिर लगायत देशका महत्वपूण शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड लागेको देख्न सकिन्छ । यसरी भिड भएको मन्दिरको परिसरमा रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिला दिदीबहीनीहरूको बाक्लै उपस्थिति हुने गर्दछ ।
तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् । हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् ।
यसै गरी तीजका गीतहरुको, परम्परागत शैलीका मौलिक गीतहरुको साटो अश्लिल अनि दुईअर्थलाग्ने गीतहरुको प्रयोगले तीजको माहौल दुषित हुन बचाउनु हामी सवैको जिम्मेवारी तथा दायित्व भित्र रहेको छ । यसको लागि विशेषतः हामी महिला दिदीबहीनीहरुले सोच विचार गर्नु पर्छ ।
यस सन्दर्भमा मोबाईल आफ्नो हो, फेसवुक, ह्वास्ट अफ, भाईबर, ईष्टाग्राम, टिकटक र लगायत सामाजिक सञ्जाल आफ्नो हो अर्थात आफुले लगिङ गरेपनी चल्ने गर्दछ र आफ्नो नियन्त्रणमा हुन्छ । यो हामी सवैलाई थाहा भएको विषय हो । र यसले गर्दा विश्वको कुनै पनी कुनामा बस्ने आफ्नो साथीसंगीहरु, परिवारका सदस्य र आफन्त अनी शुचिन्तकहरुलाई सजिलै भेट्न र कुरा गर्न सकिन्छ । यो पछिल्ला चरणमा संचार क्षेत्रमा विकास भएको एक नक्षत्रको रुपमा लिन सकिन्छ ।

तर हामीले आफुले सम्प्रेषण गरेको सामाग्री, स्टाटस र अभिव्यक्ति अरुको लागि हो । यो कुरा हामीले प्रविष्ठ गर्नुभन्दा अगाडी विचार गर्नु पर्छ । त्यो कुरा प्रायः गरी हामी कसैले सोचेको पाईन्दैन । साथीसंगीसंग जमघट भएर खानपिनदेखि हरेक कुरा सामाजिक सञ्जालमा छरप्रस्ट हाल्छौं त्यस्को कस्तो प्रतिक्रिया आउँछ भनी हामीले अलिकती पनी ध्यान दिने गदैनौं । यसमा ध्यान दिनु जरुरी रहेको छ । मोबाईल आफनो भएपनी अभिव्यक्ती अरुको लागि हो भनेर बुझ्न जरुरी रहेको छ ।
यसैगरी रत्यौलीका गीत र शब्दहरु अनि तीजका भाकाहरु अवश्य फरक छन् तथापि सस्तो लोकप्रियताका लागि रत्यौलीका शब्दहरुमा अझ श्रोता, दर्शक यस्तै मन पराउँछन् भन्दै तथाकथित मसला हालेर तीजकालागि गित तयार गरिनुले तीजको गहनतालाई हलुका त बनाएको छैन ? सोचनीय छ । चाहे माईकमा घन्किने गीत हुन या थपडीका आवाज, तीजमा संगीतको महत्व अत्यन्त धेरै हुन्छ, त्यो मौलिकता हामीले विर्सनु हुदैन ।
महिला दिदीबहीनीहरु रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहौलमा निरन्तरको नाचगान । न भोक न तिर्खाको सम्झना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ । यो नै हामी महिला दिदीबहीनीहरुको मुख्य विशेषता रहेको छ ।
समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु–स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्ष र उमंगको दिन हो ।
“तीज” लाई महिलाहरुको चाड भनेर निकै लेप लगाइएपनि पुरुष र महिलाहरु दुवैकालागि यो चाड एकदमै महत्वपूर्ण छ । यहीकुरा धर्मशास्त्रमा पनी यही लेखेको छ । तर दर खाने निहुमा महिला दिदीबहीनीहरुसँग ब्रत बस्ने र सहयोग गर्नुको सट्टा मनोरञ्जनको रुपमा मात्र लिने र भोज भतियारमा मात्र सामेल हुने गरेको पाईन्छ ।
महिलाले आफ्नो श्रीमान र भविष्यमा हुने श्रीमानकोलागि व्रत बस्ने तीजजस्तो चाडको अवसर प्रदान गरिएको छ तर पुरुषहरुकालागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन । यो कुरा आफ्नो श्रीमान्लाई अवगत गराउन जरुरत रहेको छ ।

यसै गरी आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह अनी माया हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका साथीसङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजन र आफन्तहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।

अन्तमा, सम्पूर्ण महिलादिदीबहीहरु, तपाई माइतीमा हुनुहुन्छ या हुनुहुन्न या विदेशमा तीजको स्वदेशी यादहरु सम्झना गर्दै हुनुहुन्छ यही अवसरमा सम्पूर्ण नेपाली दिदिबहिनीहरु हरितालिका तिजको अवसरमा मेरो र बाँपीझ्याला डटकम bampijhyala.com अनलाईनको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
जय दोलखा । जय भीमेश्वर ।।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij