Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

राष्ट्रिय विज्ञान दिवसमा खरिढुङ्गामा अन्तरमावि विज्ञान हाजिरीजवाफ, उत्कृष्ट शिक्षक सम्मान

राष्ट्रिय विज्ञान दिवसमा खरिढुङ्गामा अन्तरमावि विज्ञान हाजिरीजवाफ, उत्कृष्ट शिक्षक सम्मान

नेपाल सम्वत् ११४६, यंलाथ्वः ६, षष्ठी (१ असोज २०८३, १७ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । राष्ट्रिय विज्ञान दिवसको अवसरमा भीमेश्वर नगरपालिका–९ खरिढुङ्गास्थित सुर्के माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तरमावि विज्ञान तथा प्रविधि विषयक हाजिरीजवाफ प्रतियोगिता तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार सुर्के माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थी तथा विज्ञान शिक्षकहरूको सहभागिता रहेको थियो। विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यार्थीको रुचि र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा देवी माध्यमिक विद्यालय प्रथम, भीम माध्यमिक विद्यालय, दोलखा द्वितीय र मोर्डन नेपाल स्कुल तृतीय भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञानको परीक्षणसँगै प्रतिस्पर्धात्मक भावना र सिर्जनशीलताको विकासमा सहयोग पुगेको आयोजकले जनाएको छ।

उत्कृष्ट विज्ञान शिक्षक सम्मानित

कार्यक्रमका अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन योगदान पुर्‍याएको भन्दै विज्ञान शिक्षक रविन शिवाकोटीलाई सम्मान गरिएको छ।

विज्ञान विषयको शिक्षणमा पुर्‍याएको योगदान तथा विद्यार्थीको शैक्षिक उपलब्धिमा भूमिका खेलेको भन्दै शिवाकोटीलाई सम्मान गरिएको आयोजकले जनाएको छ। शिक्षक सम्मानले विज्ञान शिक्षणमा योगदान पुर्‍याउने शिक्षकलाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता

कार्यक्रम विज्ञान शिक्षक समाज दोलखा तथा भीमेश्वर नगरपालिकाका अध्यक्ष कृष्णकुमार गुभाजूको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा भीमेश्वर नगरपालिकाकी नगर उपप्रमुख कमला बस्नेत, भीमेश्वर नगरपालिका–९ का वडाध्यक्ष हिमाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिक्मार तामाङ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष दुर्गे श्रेष्ठ, सुर्के माध्यमिक विद्यालयका प्रधानाध्यापक सज्जन आचार्यलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी भीमेश्वर नगरपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयमा कार्यरत विज्ञान शिक्षकहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

राष्ट्रिय विज्ञान दिवसलाई विद्यार्थी र शिक्षकबीच विज्ञान तथा प्रविधिको ज्ञान आदानप्रदान गर्ने अवसरका रूपमा उपयोग गर्दै प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। यस्ता कार्यक्रमले विद्यालय तहदेखि नै विज्ञान तथा प्रविधिप्रति विद्यार्थीको रुचि बढाउन तथा प्रतिभा पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम सम्पन्न भएको जानकारी सुर्के माध्यमिक विद्यालयका प्रधानाध्यापक सज्जन आचार्यले दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार