नेपाल सम्वत् ११४६, गुंल्लागाः १४, चतुर्दशी (२५ भाद्र २०८३, १० सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । गत आर्थिक वर्ष २०८२/०८३ मा बाँकेको जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालमा १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्। यो संख्या अघिल्लो वर्षहरूको तुलनामा बढ्दो क्रममा रहेको देखिएको छ।
साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार पहिचान भएका बिरामीमध्ये ८१ जना बाँके जिल्लाका हुन् भने कुल बिरामीमध्ये ६२ प्रतिशतमा कुष्ठरोगको कीटाणु पुष्टि भएको छ। बाँके, बर्दिया तथा विभिन्न पहाडी जिल्लाबाट स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमा रोगको संक्रमण देखिएको उनले बताए।
“बाँकेमा कुष्ठरोगको प्रकोप दर घटेको छैन। प्रत्येक वर्ष नयाँ बिरामी फेला पर्ने दर बढ्दै गएको छ,” थारुले भने, “लुम्बिनी प्रदेशमै बाँके उच्च जोखिममा रहेको जिल्ला हो।”
अस्पतालले कुष्ठरोगीको पहिचान, उपचार, अपाङ्गता रोकथाम, सम्पर्क परीक्षण, समुदायस्तरीय छाला तथा कुष्ठरोग शिविर, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। अस्पतालले कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई निःशुल्क उपचार सेवा समेत उपलब्ध गराउँदै आएको जनाएको छ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा १७४ जना र २०८०/०८१ मा १४६ जना नयाँ कुष्ठरोगी पहिचान भएका थिए। पछिल्ला तीन वर्षको तथ्याङ्कले नयाँ बिरामी फेला पर्ने क्रम निरन्तर बढिरहेको देखाएको छ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले समाजमा अझै पनि कुष्ठरोगप्रति रहेको लाञ्छना, विभेद र नकारात्मक सोच हट्न नसकेको बताइन्। उनले रोगबारे जनचेतना अभिवृद्धि गर्न र नयाँ बिरामी पहिचानलाई प्रभावकारी बनाउन राज्यले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याइन्।
हाल सरकारले कुष्ठरोग निवारणका लागि छुट्टै विशेष कार्यक्रम सञ्चालन नगरेको अवस्थामा सरकारी स्वास्थ्य संस्थाहरूले नयाँ बिरामी खोज तथा उपचार व्यवस्थापनका लागि साइनिङ अस्पताल र आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने अवस्था रहेको सरोकारवालाहरूले बताएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij