Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

देशभर मनसुनी प्रभाव, कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा समेत मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।

शनिबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने जनाइएको छ। कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा पर्वतारोहणमा असर पर्न सक्ने तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार