Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

सूर्यको मृत्युपछि पनि बाँच्न सक्छन् केही ग्रह, नयाँ अध्ययनले देखायो चकित पार्ने तथ्य

सूर्यको मृत्युपछि पनि बाँच्न सक्छन् केही ग्रह, नयाँ अध्ययनले देखायो चकित पार्ने तथ्य

करिब पाँच अर्ब वर्षपछि सूर्य आफ्नो जीवनको अन्तिम चरणमा पुगेर ‘रेड जायन्ट’ (रातो महातारो) मा रूपान्तरण हुनेछ। त्यस क्रममा यसको आकार अहिलेको भन्दा करिब २०० गुणासम्म फैलिने अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार त्यसबेला बुध र शुक्र ग्रह निश्चित रूपमा सूर्यभित्र समाहित हुनेछन् भने पृथ्वीको भविष्य अझै अनिश्चित छ। तर, हालै गरिएको नयाँ अनुसन्धानले सूर्यको मृत्युपछि पनि केही बाहिरी ग्रहहरू भने अर्बौं वर्षसम्म सुरक्षित रहन सक्ने सम्भावना बलियो बनाएको छ।

यस अध्ययनको केन्द्रमा रहेको ग्रह ‘डब्ल्यूडी १८५६ बी (WD 1856 b)’ पृथ्वीबाट करिब ८१ प्रकाश वर्ष टाढा ड्राको नक्षत्रमा अवस्थित एक विशाल ग्यासीय एक्सोप्लानेट हो। यसको द्रव्यमान वृहस्पतिभन्दा करिब आठ गुणा बढी रहेको अनुमान गरिएको छ। यो ग्रह अहिले आफ्नो मातृताराको अवशेष अर्थात् ‘सेतो वामन’ (ह्वाइट ड्वार्फ) को अत्यन्त नजिक परिक्रमा गरिरहेको छ। पृथ्वी–सूर्य दूरीको तुलनामा यो आफ्नो ताराभन्दा करिब ५० गुणा बढी नजिक छ र केवल १.४ दिनमै एउटा परिक्रमा पूरा गर्छ।

वैज्ञानिकहरूले जेम्स वेब स्पेस टेलिस्कोप (JWST) प्रयोग गरेर यस ग्रहको वायुमण्डलको विस्तृत अध्ययन गरेका छन्। अध्ययनबाट यसको वायुमण्डल मुख्यतः हाइड्रोजन र हिलियमबाट बनेको भए पनि मिथेन ग्यासको मात्रा असामान्य रूपमा धेरै रहेको पाइएको छ। यसको तापक्रम करिब १२७ डिग्री सेल्सियस मापन गरिएको छ, जुन वैज्ञानिकहरूले पहिले अनुमान गरेकोभन्दा निकै बढी हो। अनुसन्धानकर्ताका अनुसार यस्तो तापक्रम ग्रहको कक्षा समयसँगै तारातर्फ सर्दै जाँदा उत्पन्न भएको गुरुत्वाकर्षणीय प्रभावका कारण भएको हुन सक्छ।

डब्ल्यूडी १८५६ बी अहिले रहेको अवस्थासम्म कसरी पुग्यो भन्ने विषयमा वैज्ञानिकहरूले दुई सम्भावना अघि सारेका छन्। पहिलो, आफ्नो मातृतारा रेड जायन्ट बन्दा यसको बाहिरी तहभित्र पुगे पनि ग्रह पूर्ण रूपमा नष्ट नभई बच्न सफल भयो। दोस्रो, यो सुरुमा ताराबाट धेरै टाढा रहेको र पछि वरपर रहेका दुई रातो वामन ताराको गुरुत्वाकर्षणीय प्रभावले बिस्तारै अहिलेको नजिकको कक्षामा आइपुगेको हुन सक्छ। यो प्रणालीमा एक सेतो वामनसँगै दुई रातो वामन तारा रहेकाले यसको गुरुत्वीय वातावरण अत्यन्त जटिल रहेको वैज्ञानिकहरूको भनाइ छ।

सन् २०२० मा पहिलोपटक पत्ता लागेको डब्ल्यूडी १८५६ बीलाई सूर्यजस्ता ताराको मृत्युपछि पनि ग्रह जीवित रहन सक्छ भन्ने पहिलो प्रत्यक्ष प्रमाणका रूपमा हेरिएको थियो। हालै नेचर जर्नलमा प्रकाशित नयाँ अध्ययनले यसको वायुमण्डल र संरचनाबारे थप जानकारी दिँदै भविष्यमा हाम्रो सौर्यमण्डलको अवस्था कस्तो हुन सक्छ भन्नेबारे महत्वपूर्ण संकेत गरेको छ।

अनुसन्धानकर्ताका अनुसार सूर्य पाँच अर्ब वर्षपछि सेतो वामन तारामा रूपान्तरण हुँदा आफ्नो करिब आधा द्रव्यमान गुमाउनेछ। त्यसपछि यसको गुरुत्वाकर्षण कमजोर हुने भएकाले वृहस्पति, शनि, युरेनस र नेप्च्युनजस्ता बाहिरी ग्रहहरू अझ बाहिर सर्दै गए पनि अस्तित्वमा रहन सक्ने सम्भावना उच्च छ। तर पृथ्वी सूर्यले निल्नेछ वा अन्तिम समयमा बच्न सफल हुनेछ भन्ने विषयमा भने वैज्ञानिकहरू अझै निश्चित निष्कर्षमा पुग्न सकेका छैनन्।

खगोलविद्हरूका अनुसार यस अध्ययनले केवल एउटा ग्रहको रहस्य मात्र उजागर गरेको छैन, हाम्रो सौर्यमण्डलको अर्बौं वर्षपछिको भविष्यबारे पनि महत्वपूर्ण झलक दिएको छ। यद्यपि, सूर्यको अन्तिम अवस्थासम्म पुग्न अझ करिब पाँच अर्ब वर्ष बाँकी रहेकाले मानव सभ्यताले यसको उत्तर खोज्न प्रशस्त समय पाउने वैज्ञानिकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार