Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

शहरको मुटुको पीडा

शहरको मुटुको पीडा

शहरको कोलाहल र व्यस्तताबीच कार्यालयबाट घर फर्कँदै थिएँ। अचानक नजिकैबाट कसैको रुवाइ र कहराएको आवाज सुनियो। वरिपरि हेरेँ, सुरुमा त कोही देखिनँ। फेरि ध्यान दिएर सुन्दा बन्द घरभित्रबाट आवाज आइरहेको रहेछ। झ्याल–ढोका सबै बन्द थिए।

जिज्ञासाले सोधेँ,
"किन रोएको? के भयो?"

भित्रबाट मलिन स्वर आयो,
"बीस–बाइस दिन भयो, म अन्यायमा परेको छु। गहिरो चोट लागेको छ।"

मैले फेरि सोधेँ,
"अनि कसैले उपचार गरेन?"

उसले लामो सास फेर्‍यो।
"खै के भनूँ! मेरा जन्मदाता र संरक्षकले मलाई हुर्काउन धेरै मिहिनेत गरे। म विस्तारै लोकप्रिय पनि बन्दै गएको थिएँ।"

"त्यसपछि के भयो? कसले चोट पुर्‍यायो?"

उसको स्वर झन् भारी बन्यो।

"मेरो अस्तित्व जोगाउन धेरै हारगुहार गरियो। सम्बन्धित निकायमा आवाज उठाइयो। तर कतै सुनुवाइ भएन। सबै आवाज कानका पहरामा ठोक्किएर फर्किए। जसोतसो बाँचिरहेको थिएँ..."

ऊ केहीबेर रोकियो। हिक्का छुटेजस्तो लाग्यो।

मैले उत्सुकतापूर्वक सोधेँ,
"अनि...?"

उसले पीडाभरिएको स्वरमा भन्यो,

"यस परिसरको विकास गर्ने नाममा मकै पिस्दा घुन पिसिएझैँ म पनि पिसिएँ। साह्रै दुखेको छ। अब मेरो उपचार हुन्छ कि हुँदैन, थाहा छैन।"

उसको आवाज सुन्दै मेरो मन भारी भयो।

अन्त्यमा मैले सोधेँ,

"तिमी आखिर को हौ?"

उसले निकै धैर्यपूर्वक उत्तर दियो—

"म सबैलाई चाहिने, शहरको मुटुमा रहेको सार्वजनिक पुस्तकालय हुँ।"

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार