मानिस सोच्न सक्छ, अनुभव गर्न सक्छ, अनि सिर्जना गर्न सक्छ। यही क्षमताले हामीलाई अन्य प्राणीभन्दा फरक बनाउँछ। तर, सबैभन्दा गहिरो रहस्य भनेको मनको शक्ति हो। हाम्रो सोच, भावना र विश्वासले केवल मानसिक अवस्था मात्र होइन, शरीरको संरचना, स्वास्थ्य, ऊर्जा र जीवनशैलीलाई पनि प्रत्यक्ष रूपान्तरण गर्छ। धेरैले यो सत्य अझै बुझ्न सकेका छैनन्, तर आधुनिक अनुसन्धान र प्राचीन ध्यान दर्शनले यो स्पष्ट रूपमा प्रमाणित गर्छ।
हामीले बाँच्ने प्रत्येक क्षण, मन कुनै न कुनै तरङ्गमा कम्पन गरिरहेको हुन्छ। ती तरङ्गहरू विचार र भावनाका रूपमा मस्तिष्कमा उत्पन्न हुन्छन् र शरीरमा रासायनिक प्रतिक्रिया सुरु गर्छन्। उदाहरणका लागि, डर लाग्दा मुटु छिटो धड्किन्छ, श्वास छिटो हुन्छ, र छाला पसिनाले भिज्छ। दुःख हुँदा आँसु आउँछ, शरीर भारी महसुस हुन्छ। खुशी, प्रेम वा आनन्दमा शरीर हलुका हुन्छ, ऊर्जा फैलिन्छ। यी केवल घटना होइनन्; यी प्रमाण हुन् । मनले शरीरलाई निरन्तर निर्देशन दिइरहेको छ।
शरीर शब्द बुझ्दैन, तर ऊर्जा बुझ्छ। जब हामी भन्छौं “म कमजोर छु”, शरीर त्यो आदेश अनुसार प्रतिक्रिया दिन थाल्छ। जब भन्छौं “म निको हुँदैछु”, शरीर त्यसलाई सत्य मानेर पुनःनिर्माण गर्न थाल्छ। हरेक विचार, हरेक भावना शरीरका अणु, कोष, स्नायु र हृदयसम्म संकेत पठाउँछ।
विश्वास, प्रेम र कृतज्ञताको ऊर्जा शरीरका लागि वास्तविक औषधि हुन्। डर, दोष र क्रोध भने विष हुन्। बारम्बार नकारात्मक सोचहरू चलिरहँदा शरीरमा तनावका रसायनहरू निरन्तर बग्छन्, रोग प्रतिरोधक क्षमता घट्छ, र दीर्घकालीन रोगको सम्भावना बढ्छ। तर धन्यवाद, क्षमा र शान्तिको भावले कोषहरूमा नयाँ आदेश पठाउँछ–“अब उपचार सुरु गर।”
मनले जुन चित्र कोर्छ, शरीर त्यसलाई जीवन्त बनाउँछ। यदि मनमा निरन्तर दुःख, डर र हताशा चित्रित हुन्छ भने शरीर त्यस अनुसार प्रतिक्रिया गर्छ। तर जब मनमा शान्ति, उज्यालो र प्रेमका चित्र उब्जिन्छन्, शरीरको कम्पन पनि त्यस अनुरूप बदलिन्छ। यही कारणले, उपचार सुरु गर्नु अघि शरीर होइन, मनलाई उपचार गर्नुपर्छ।
ध्यान, मौन र गहिरो श्वास, यी केवल अभ्यास होइनन्, चेतनाको ढोका हुन्। जब मन शान्त हुन्छ, शरीरले आत्माको आवाज सुन्न थाल्छ। त्यो आवाज सधैं प्रेम, सन्तुलन र पूर्णताको भाषा बोल्छ। त्यही क्षण शरीरले नयाँ जीवनका संकेतहरू ग्रहण गर्छ। गहिरो श्वास र केन्द्रित ध्यानले मस्तिष्क, स्नायु प्रणाली र हृदयलाई एकाकार बनाउँछ, जसले शरीरमा प्राकृतिक उपचार प्रक्रिया सुरु गराउँछ।
हामी हरेक बिहान हिजोको मन बोकेर उठ्छौं। हिजोका डर, पछुतो, असन्तोष, यी सबै फेरि सक्रिय हुन्छन्। यसरी शरीर हिजोको आदेशमा चलिरहन्छ। परिवर्तन चाहिन्छ भने पहिलो कदम हो–नयाँ सोच।
“म निको हुँदैछु।”
“म उज्यालो चेतना हुँ।”
“म भित्रको शक्ति हो।”
यी शब्दहरू केवल वाक्य होइनन्, नयाँ जैविक प्रोग्राम हुन्। जब यी भावनासँग भनिन्छन्, शरीरको प्रत्येक कोष त्यसको तरङ्ग महसुस गर्छ। शरीर स्थिर वस्तु होइन; यो चेतनाको नृत्य हो। चेतना बदलिएपछि शरीर पनि रूपान्तरण हुन्छ। औषधि, चिकित्सा वा बाहिरी उपचारहरूले सहयोग गर्न सक्छन्, तर वास्तविक परिवर्तन तब मात्र हुन्छ जब मनले आफूलाई नयाँ यथार्थमा देख्न थाल्छ।
मन र शरीरको सम्बन्ध केवल व्यक्तिगत स्वास्थ्यमा सीमित छैन। सकारात्मक सोच, प्रेम र कृतज्ञताको ऊर्जा हाम्रो वरिपरि वातावरण, सम्बन्ध र समाजमा पनि प्रभाव पार्छ। जब हामी प्रेम र शान्तिको तरङ्ग फैलाउँछौं, हाम्रो वरिपरिको मानिस र स्थानमा पनि सकारात्मक प्रभाव पर्न थाल्छ।
अन्ततः शरीर हाम्रो दास होइन, साथी हो। हरेक विचार, हरेक भावना र हरेक विश्वास शरीरमा नयाँ जीवन ल्याउने माध्यम हुन्। त्यसैले हरेक बिहान आफ्नो मनलाई प्रेम, शान्ति र उज्यालो चेतनाले भरिदिनुहोस्, अनि शरीर आफैं स्वास्थ्य, शक्ति र जीवनको संगीतमा बग्न थाल्छ।
आदर्श प्रधान, रेकि ग्राण्ड मास्टर, होलिस्टिक माइन्ड्स एण्ड लाइफ सेलिब्रेशन सेन्टर
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij