Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

दोलखाको चाडपर्व र गुठि संस्कारको अस्थित्व संकटमा : पुर्खाको सम्पदा बचाउन उठ्दैछ नयाँ पुस्ता

दोलखाको चाडपर्व र गुठि संस्कारको अस्थित्व संकटमा : पुर्खाको सम्पदा बचाउन उठ्दैछ नयाँ पुस्ता

एउटा समय थियो जब दोलखा शहर आफ्नै शान र संस्कृतिमा एक स्वतन्त्र राज्यको रुपमा प्रख्यात थियो । आफ्नो मौलिक नेवारी भाषा, धर्म, कला, रीतिरिवाज, पर्व, गुठि संस्कारहरूसँग आत्मनिर्भर पहिचान बनाएको यस ऐतिहासिक शहर दोलखामा आज ती सम्पदाहरू अस्तित्व संकटमा परेका छन्।

पुर्खाहरूले सदियौँ अघि मिलेर बनाएका नियम, विधि र परम्परागत गुठिहरू अहिलेको पुस्ताले बिस्तारै विस्मृत गर्दै गएका छन्। दोलखामा महिना पिच्छे फरक फरक चाडपर्व र गुठिहरूको वर्षभरी सन्चालन हुने आफनै बार्षिक पात्रो हुँदाहुँदै पनि त्यो थालनी, त्यो उत्साह, त्यो विधिविधान अब काम चलाउ शैलीमा सीमित हुन थालेकोमा स्थानीय बृद्धबृद्धाहरुको पीडा छ।

अझ दुःखको कुरा त के भने, जब कुनै जात्रा वा गुठिको पालो आउँछ, तब त्यो संस्कारको गहिरो भावनाभन्दा पनि अरुलाई देखाउने, आफ्नो छुट्टै हैसियत भएको प्रमाणित गर्ने होडबाजी हुन थालेको छ। गुठिहरूले आफ्नो जिम्मेवारी पुरा गर्नतर्फ भन्दा पनि स्थानीय सरकारको बजेटको पर्खाइ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ। न पूजा विधि बुझिन्छ, न कर्मकाण्ड पालना गरिन्छ । तर बाह्य प्रदर्शन र प्रतिस्पर्धा मात्र बढ्दै गएको छ।
तर यस्ता निराशाबीच पनि आशाको उज्यालो देखिएको छ। यस वर्षको गठेमंगल (गाठामा डुई) जात्राको गुठि पालो परेका कोर्छे मि परिवारका सदस्य नरेन्द्र श्रेष्ठ, जसले नेतृत्व गर्दै परम्परा बचाउने एउटा ऐतिहासिक पहल थालेका छन्।

भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठको उपस्थितीमा आयोजना गरिएको आजको एक  विशेष भेलामा, नरेन्द्र श्रेष्ठले  यो वर्षको जात्रा पर्वको सुरुवात हुन लागेको र नजिकिदै गरेको घण्टाकर्ण चतुर्थी (गाठमा) विगतदेखि हालसम्म उक्त जात्रा कसरी सन्चालन हुँदै आएको छ, पूजा विधि के हो, कसरी पालो तोकिन्छ, यसमा कति आर्थिकभार लाग्छ, कसको के कस्तो जिम्मेवारी हो—सम्पूर्ण विवरण समेटिएको प्रतिवेदन प्रस्तुत गरेको छन् ।

उक्त प्रतिवेदनमा सुझाव र परिमार्जन गर्न अपिल गरिंदै अन्य चाडपर्व, गुठिहरूको पनि यस्तै दस्तावेजीकरण गर्नुपर्ने साझा आवाज उक्त स्थानिय भेलामा उठ्यो। सहभागी सरोकारवालाहरूले वर्षभरी दोलखामा हुने सम्पूर्ण चाडपर्व र गुठि संस्कारहरूको अभिलेख तयार गरी एकसाथ प्रकाशित गर्न आग्रह गर्दै वडाध्यक्ष श्रेष्ठ संग माग गरेका छन् ।

यो पहलले दोलखाको लोपोन्मुख चाडपर्व, गुठि र संस्कारलाई फेरि एकपटक जीवन्त बनाउन सक्ने विश्वास गरिएको छ। सम्पदाको संरक्षण भनेको केवल विगत सम्झेर रमाउने होइन, आजको पुस्ताले त्यसलाई बुझेको देखाउने कार्य हो–र यो प्रयास त्यसकै थालनी हो। शुभकामना छ अभियन्ता नरेन्द्र श्रेष्ठ र उक्त कोर्छे खलकलाई यो कार्यको लागि सम्पुर्ण दोलखाबासिलाई सहयोगको लागि अपिल गर्दछौ । जय दोलखा । जय दोलखा भीमेश्वर ।।


अजय प्रधान, दोलखा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार