नेपाल सम्वत् ११४६, यंलागाः १, प्रतिपदा (११ असोज २०८३, २७ सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला अन्तर्गत तारकेश्वर नगरपालिकामा १३ सदस्यीय नगर समिति गठन भएको छ। तारकेश्वर नगरपालिका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका करिब ५३ जना ग्रिल तथा स्टिल व्यवसायीको भेलाबाट प्रकाश सापकोटाको अध्यक्षतामा नयाँ नगर समिति गठन गरिएको हो।
नगर समिति गठनसँगै तारकेश्वर क्षेत्रका ग्रिल तथा स्टिल व्यवसायीलाई संस्थागत रूपमा एकीकृत गर्दै उनीहरूको व्यवसायिक हकहित, पेशागत सुरक्षा, सदस्यता विस्तार तथा व्यवसायीमुखी कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा अघि बढाउने आधार तयार भएको छ।

समिति गठन कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठूलोबाबु श्रेष्ठ प्रमुख अतिथि तथा महासंघका उपाध्यक्ष रूपेन्द्र बानियाँ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
समिति गठन भएकै दिन तारकेश्वर क्षेत्रका चार जना नयाँ व्यवसायी संघमा आबद्ध भएका छन् भने १३ जना पुराना सदस्यले सदस्यता नवीकरण गरेका छन्। जिल्ला कार्यसमितिको निर्णयअनुसार नयाँ व्यवसायीलाई संघमा प्रवेश गर्न सहज बनाउने उद्देश्यले सदस्यता शुल्कसमेत घटाइएको छ।
यसअघि कायम रहेको रु. ११ हजार ७५१ सदस्यता शुल्क घटाएर रु. ५ हजार ५५५ कायम गरिएको कार्यक्रममा जानकारी दिइयो। लामो समयदेखि सदस्यता नवीकरण गर्न नसकेका पुराना सदस्यलाई भने दुई वर्षको नवीकरण शुल्क लिएर सदस्यता नवीकरण गर्ने व्यवस्था गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ठूलोबाबु श्रेष्ठले संस्थाको लामो इतिहास, योगदान र गरिमालाई व्यक्तिगत स्वार्थसँग जोडेर हेर्न नहुने बताउनुभयो। उहाँले बजारमा चल्ने हल्ला तथा अनर्गल प्रचारको पछि नलागी संस्थाको विधान, वैधानिक प्रक्रिया र आधिकारिक निर्णयलाई आधार बनाएर अघि बढ्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो।
श्रेष्ठले संस्थाभित्र विचार फरक हुन सक्ने भए पनि संस्थाको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले व्यक्तिगत स्वार्थभन्दा संस्था र व्यवसायीको सामूहिक हितलाई माथि राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
नवनिर्वाचित नगर अध्यक्ष प्रकाश सापकोटाले आफू नेतृत्वको पदमा मात्र सीमित नभई व्यवसायीका प्रत्यक्ष समस्या र आवश्यकतासँग जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्यता नवीकरण, नयाँ व्यवसायीलाई संगठनमा आबद्ध गराउने तथा व्यवसायी र कर्मचारीलाई बीमा कार्यक्रममा जोड्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो।
सापकोटाले तारकेश्वर क्षेत्रका सबै ग्रिल तथा स्टिल व्यवसायीलाई संघको मूल प्रवाहमा समेट्दै व्यवसायीका साझा समस्या पहिचान गर्ने र समाधानका लागि सम्बन्धित सरकारी तथा स्थानीय निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका कार्यवाहक अध्यक्ष भरत लामिछानेले स्वागत मन्तव्य राख्दै संस्थाको स्थापना कालदेखि विभिन्न समयमा विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्याएका निवर्तमान अध्यक्ष, वरिष्ठ पदाधिकारी तथा पूर्व कार्यसमितिका सदस्यहरूलाई संस्थागत संवाद र सहकार्यमा सहभागी हुन आह्वान गर्नुभयो।
लामिछानेले संस्थाभित्र विचारको विविधता, मतभेद र बहस हुनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसलाई व्यक्तिगत असहमति वा विभाजनको रूपमा लिन नहुने बताउनुभयो। उहाँले संवाद, सहमति र सहकार्यका माध्यमबाट संस्थाभित्र देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
व्यक्ति र पद परिवर्तनशील भए पनि संस्था निरन्तर रहने साझा धरोहर हो भन्ने मान्यताका साथ अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर संस्थालाई थप सुदृढ, व्यवस्थित र व्यवसायीमुखी बनाउने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरिएको थियो।
तारकेश्वर नगर समिति गठनसँगै काठमाडौं जिल्लाका अन्य स्थानीय तहमा समेत संगठन विस्तारलाई थप गति दिने जिल्ला कार्यसमितिले जनाएको छ। व्यवसायीको पेशागत सुरक्षा, सदस्यता तथा नवीकरण, बीमा र व्यवसायीमुखी कार्यक्रमलाई स्थानीय तहसम्म पुर्याउँदै व्यवसायीबीच सहकार्य र एकता बढाउने लक्ष्यसमेत अघि सारिएको छ।
नयाँ नगर समितिले तारकेश्वर क्षेत्रका ग्रिल तथा स्टिल व्यवसायीका साझा समस्या पहिचान गरी आवश्यक पहल गर्ने तथा व्यवसायीलाई संघको सेवा र कार्यक्रमसँग जोड्दै लैजाने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij