भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउँदा जलविद्युत् आयोजनाको सुरुङभित्र कार्यरत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ का रोहितकुमार कुँवरले भागेर ज्यान जोगाउनुभएको छ ।
२१६ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा इलेक्ट्रीसियनका रूपमा कार्यरत कुँवर घटनाका दिन सुरुङभित्र काम गरिरहनुभएको थियो । बाहिर बाढीको अवस्था भयावह बनिसकेको भए पनि सुरुङभित्र रहेकाले सुरुमा उहाँहरूलाई त्यसबारे जानकारी थिएन । तर, सुरुङभित्र पानी प्रवेश गर्न थालेपछि भने जोखिमको महसुस भयो ।
त्यसैबेला साइरन बज्न थालेपछि सेफ्टी अफिसरले तत्काल सुरुङबाट बाहिर निस्कन निर्देशन दिएका थिए । निर्देशन पाएलगत्तै रोहितसहित सुरुङभित्र रहेका कामदारहरू सुरक्षित स्थानतर्फ दौडिएका थिए ।
‘हामी बाहिर आउँदा त बाढीले सबै बगाइसकेको थियो । क्याम्पहरू सबै लगिसकेको थियो । हामी पनि माथि भाग्न थाल्यौँ । माथि भागेरै हाम्रो ज्यान जोगियो,’ रोहितले त्यो कहालीलाग्दो क्षण सम्झँदै भन्नुभयो ।
बाढीको सूचना पाएपछि सुरुङभित्र रहेका कामदारहरू करिब १० देखि १५ मिनेटभित्रै सुरक्षित स्थानतर्फ निस्कन सफल भएका थिए । सुरुमा उनीहरू चौरतिर पुगेका थिए । तर, त्यहाँ पनि बाढीको जोखिम बढेपछि सुरुङबाहिर रहेका चिनियाँ कामदारको क्याम्प हुँदै कन्ट्रोल बिल्डिङ र त्यसपछि माथिल्लो डाँडातर्फ पुगेर ज्यान जोगाएका थिए ।
पानीको सतह निरन्तर बढिरहेको थियो । सुरक्षित भनिएको स्थानमा समेत जोखिम बढेपछि उनीहरूले रातभर पटक–पटक स्थान परिवर्तन गर्नुपरेको थियो । बाढीको आवाज, बढ्दो पानीको सतह र चारैतिरको अन्धकारले अवस्था झनै त्रासपूर्ण बनेको रोहितको भनाइ छ ।
उक्त आयोजनामा मेकानिकल र इलेक्ट्रिकलतर्फ गरी कुल १११ जना कामदार कार्यरत थिए । सुपरभाइजर र सेफ्टी अफिसरबाट प्राप्त जानकारीअनुसार इलेक्ट्रिकलतर्फका सबै कामदार सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।
तर, मेकानिकलतर्फ कार्यरत एक जना कामदार भने बाढीपछि अझै बेपत्ता रहेको रोहितले बताउनुभयो ।
बाढीले आयोजनाका क्याम्प, सुरुङ तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । घटनाको भयावहता देख्दा आफूहरू भागेर ज्यान जोगाउन सफल हुनु नै ठूलो कुरा भएको उहाँको भनाइ छ ।
बाढीका कारण घटनास्थलमा निरन्तर जोखिम रहेपछि रोहितसहित अन्य कामदारले तीन दिनसम्म सुरुङ आसपास र डाँडामै त्रासपूर्ण अवस्था बिताउनुपरेको थियो ।
उनीहरूले परिवारसँग सम्पर्क गर्ने प्रयास गरे पनि सञ्चार सञ्जालले निरन्तर काम नगर्दा समस्या भएको थियो । परिवारका सदस्यहरूले सञ्चारमाध्यम तथा छोटो समयका लागि उपलब्ध भएको नेटवर्कमार्फत रोहित सुरक्षित रहेको जानकारी पाए पनि प्रत्यक्ष सम्पर्क हुन नसक्दा परिवारमा ठूलो चिन्ता थियो ।
घटना भएको तीन दिनपछि नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगेपछि रोहितसहित प्रभावित कामदारहरूको उद्धार गरिएको थियो ।
उद्धारपछि काठमाडौँ ल्याइएका रोहितले करिब एक साता आराम गरेपछि आफ्नो घर फर्कनुभएको छ । आयोजनाको सुरुङ तथा भौतिक संरचनामा ठूलो क्षति भए पनि कम्पनीले सबै कर्मचारीलाई सुरक्षित रूपमा काठमाडौँ ल्याएर आवश्यक सेवा–सुविधा उपलब्ध गराएको उहाँले बताउनुभयो ।
कम्पनीले कर्मचारीहरू मानसिक रूपमा पूर्ण रूपमा ठीक भएपछि मात्र काममा फर्काउने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ ।
भोटेकोशीमा आएको बाढी र सुरुङभित्र बिताएका ती डरलाग्दा क्षण सम्झँदा रोहितलाई अझै पनि घटनास्थलमा फर्केर काम गर्न डर लाग्छ । ‘त्यहाँका ती क्षण सम्झँदा फेरि कहिल्यै त्यहाँ नफर्किऊँ जस्तो लाग्छ,’ उहाँ भन्नुहुन्छ ।
भोटेकोशी बाढीले भौतिक संरचना र करोडौँको सम्पत्तिमा क्षति पुर्याउनुका साथै प्रभावित क्षेत्रमा कार्यरत श्रमिक तथा स्थानीयवासीको जीवनमा समेत गहिरो त्रास र मानसिक असर छाडेको छ । रोहितको उद्धार कथा भने विपद्को क्षणमा तत्काल निर्णय, सतर्कता र सुरक्षित स्थानतर्फको भागदौडले कसरी ज्यान जोगाउन सकिन्छ भन्ने उदाहरण बनेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij