नेपाल सम्वत् ११४६, यंलागाः १४, चर्तुदशी (२३ असोज २०८३, ९ अक्टोबार, २०२६) शुक्रबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२, दोलखास्थित भीम माध्यमिक विद्यालयको आर्थिक वर्ष २०८२/८३ को सामाजिक परीक्षणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयको शैक्षिक तथा आर्थिक गतिविधिबारे समीक्षा गर्नुका साथै विद्यार्थीलाई छात्रवृत्ति, पुरस्कार र विद्यालय पोशाक वितरण गरिएको छ।
शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शेरबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने सामाजिक परीक्षण प्रतिवेदन प्राविधिक उपसमितिका संयोजक अजय प्रधानले प्रस्तुत गरेका थिए। समितिका सदस्य तथा बुद्धिजीवी नरेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न शिक्षाप्रेमी, समाजसेवी तथा दाताहरूको सहयोगमा विद्यार्थीलाई छात्रवृत्ति, पुरस्कार र पोशाक वितरण गरिएको थियो।
भीमेश्वर नगरपालिका–३ स्थित वुड्स रिसोर्टका सञ्चालक तथा शिक्षाप्रेमी इन्जिनियर प्रेमबहादुर थापाले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा २०७३ सालदेखि प्रदान गर्दै आएको जेहेन्दार छात्रवृत्तिअन्तर्गत यस वर्ष २० जना विद्यार्थीलाई जनही दुई हजार ५०० रुपैयाँका दरले कुल ५० हजार रुपैयाँ प्रदान गरेका छन्।
त्यसैगरी, भीमेश्वर नगरपालिका–३, चरिकोटका व्यवसायी ध्रुवकुमार श्रेष्ठले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा स्थापना गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत १० जना विद्यार्थीलाई जनही दुई हजार ५०० रुपैयाँका दरले कुल २५ हजार रुपैयाँ वितरण गरेका छन्। उनले उक्त छात्रवृत्ति २०८१ सालदेखि प्रदान गर्दै आएका छन्।
समाजसेवी तथा शिक्षाप्रेमी अधिवक्ता सुब्बा श्रेष्ठद्वारा स्थापित अक्षयकोषको ब्याजबाट पाँच जना उत्कृष्ट विद्यार्थीलाई जनही एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।
यसैगरी, भीमेश्वर नगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल अमेरिकामा बसोबास गर्दै आएका सन्जीव श्रेष्ठको सौजन्यमा कक्षा १ देखि ५ सम्मका ८१ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।
समाजसेवी तथा वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठको तर्फबाट स्थापित ‘अम्बरबहादुर कार्की उत्कृष्ट पुरस्कार’ बाट विद्यालयकी शिक्षिका सुजाता मास्केलाई नगद सात हजार ५०० रुपैयाँसहित सम्मान गरिएको छ।
कार्यक्रममा विद्यालयको शैक्षिक विकास, विद्यार्थीको प्रोत्साहन तथा सामाजिक उत्तरदायित्वमा योगदान पुर्याउने दाताहरूको सहयोगको प्रशंसा गरिएको थियो। यस्ता सहयोगले विद्यार्थीलाई अध्ययनप्रति प्रेरित गर्नुका साथै विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमकै अवसरमा आसन्न दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो। विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले ‘को भन्दा को कम’ नामक प्रतियोगिता आयोजना गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ, विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार वितरण र सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij