Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

पूर्णबहादुर खड्का : ‘रूख र चार तारा जहाँ हुन्छ, म त्यहीँ उभिन्छु’

पूर्णबहादुर खड्का : ‘रूख र चार तारा जहाँ हुन्छ, म त्यहीँ उभिन्छु’

नेपाल सम्वत् ११४६, यंलाथ्वः ४, चौथी (३० भाद्र २०८३, १५ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफू पार्टीको आधिकारिक चुनाव चिह्न रूख र चार तारे झण्डा जहाँ हुन्छ, त्यहीँ उभिने बताएका छन्।

सोमबार काठमाडौंको गोल्फुटारस्थित आफ्नै निवासमा निकट नेताहरूसँग भएको अनौपचारिक छलफलका क्रममा खड्काले यस्तो धारणा राखेका हुन्।

छलफलमा सहभागी नेता रामहरि खतिवडाका अनुसार खड्काले चुनदेवीमा भइरहेको कांग्रेसको इतर समूहको भेला तथा छलफलमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्।

‘म रूख र चार तारा जहाँ हुन्छ, त्यहीँ उभिन्छु भन्नुभयो,’ खतिवडाले भने, ‘चुनदेवीमा भइरहेको असन्तुष्ट समूहको भेलामा जान्नँ भनेर उहाँले स्पष्ट पार्नुभयो।’

खड्काले आगामी ३ असोजबाट हुने पार्टी अधिवेशनमा समेत आफू सहभागी नहुने बताएका छन्। अदालतमा विचाराधीन मुद्दाका कारण नैतिक रूपमा अधिवेशनमा सहभागी हुन नमिल्ने उनको धारणा रहेको खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार खड्काले यसअघि पनि आफूले अदालतमा मुद्दा दायर गरेका कारण चुनाव नलडेको स्मरण गराउँदै अहिले पनि आफ्नै हस्ताक्षरमा पुनरावेदनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले नैतिक रूपमा अधिवेशनमा भाग लिन नमिल्ने बताएका थिए।

तर, उनले आफू निकट नेताहरूलाई भने पार्टीको मूलधारमा फर्किएर अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

‘पूर्ण दाइले हामीलाई रूख र चार तारा उतै छ, तिमीहरू उतै गएर भाग लिनु, सहभागी हुनु भन्नुभयो,’ खतिवडाले बताए।

सोमबारको छलफलमा डिना उपाध्याय, इन्द्र बानियाँ, श्याम घिमिरे, ईश्वरी न्यौपाने लगायत करिब २५ जना केन्द्रीय नेता सहभागी भएको खतिवडाले जानकारी दिएका छन्।

खतिवडाले आफूहरू अब कांग्रेसको मूलधारमा फर्कनेसमेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार