Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

दोलखाको मौलिक धुन बचाउन अधिवक्ता श्रेष्ठ स्वयं बने सनईका शिष्य

दोलखाको मौलिक धुन बचाउन अधिवक्ता श्रेष्ठ स्वयं बने सनईका शिष्य

नेपाल सम्वत् ११४६, गुंल्लागाः ४, चौठी (१६ भाद्र २०८३, १ सेप्टेम्वर २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको ऐतिहासिक, धार्मिक तथा प्राचीन सभ्यता र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको म्वाहारी (सनई) बाजा आज लोप हुने जोखिममा पुगेको छ। वर्षौंदेखि जात्रा, पर्व, पूजा–आराधना तथा सांस्कृतिक अनुष्ठानहरूको अभिन्न अंगका रूपमा रहेको यो बाजा बजाउने दक्ष कलाकारहरूको संख्या निरन्तर घट्दै जाँदा यसको भविष्यप्रति चिन्ता बढ्न थालेको छ। यही अवस्थालाई मध्यनजर गर्दै दोलखा भीमेश्वर गुठी व्यवस्थापनका सचिव, अधिवक्ता तथा युवा समाजसेवी राजेन्द्रनारायण श्रेष्ठ स्वयं म्वाहारी (सनई) बाजा सिक्न अघि सर्नुभएको छ।

दोलखाको सांस्कृतिक सम्पदा संरक्षणका लागि सक्रिय रूपमा लागिपर्दै आउनुभएका श्रेष्ठले हालै परम्परागत विधिअनुसार वरिष्ठ कलाकार तथा म्वाहारी गुरु वीरबहादुर कुस्लेज्युलाई गुरु दक्षिणा अर्पण गरी औपचारिक रूपमा सनई बाजा सिक्न सुरु गर्नुभएको हो। उहाँको यो कदम केवल व्यक्तिगत रुचिमा सीमित नभई हराउँदै गएको सांस्कृतिक सम्पदालाई जोगाउने अभियानका रूपमा हेरिएको छ।

प्राचीन शहर भीमेश्वर नगर क्षेत्रमा वर्षभरि सञ्चालन हुने विभिन्न जात्रा तथा पर्वहरूमा म्वाहारी (सनई), ढोलक, खीँ लगायतका परम्परागत बाजाको महत्वपूर्ण भूमिका रहँदै आएको छ। तर पछिल्लो समय यस्ता बाजा बजाउने कलाकारहरू वृद्ध बन्दै गएका छन् भने नयाँ पुस्ताको आकर्षण घट्दै जाँदा जात्रा सञ्चालनमै समस्या उत्पन्न हुन थालेको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ बताउनुहुन्छ।

उहाँका अनुसार अहिलेको पुस्ताले आफ्नो सांस्कृतिक जिम्मेवारी बुझ्न नसके आगामी केही वर्षमै दोलखाका धेरै मौलिक बाजा, परम्परा र सांस्कृतिक अभ्यासहरू इतिहासका पानामा सीमित हुनसक्छन्।

युवा समाजसेवी राजेन्द्रनारायण श्रेष्ठ भन्नुहुन्छ, “दिनानुदिन दोलखा शहरका जात्रा–पर्वमा बजाइने सहनाइ, ढोलक, खीँ लगायतका वाद्यवादनमा कलाकारहरूको अभाव बढ्दै गएको छ। हाम्रा अग्रजहरूले संरक्षण गरेर राखेका अमूल्य सांस्कृतिक सम्पदालाई भावी पुस्तामा हस्तान्तरण गर्न अब हामी युवाहरूले नै अग्रसर हुनुपर्ने बेला आएको छ।”

उहाँले परम्परागत बाजा सिक्नुलाई केवल संस्कृति संरक्षणको विषय मात्र नभई युवाहरूका लागि अवसरको माध्यमसमेत बनाउन सकिने धारणा राख्नुभएको छ। यदि व्यवस्थित रूपमा प्रशिक्षण र प्रोत्साहन दिन सकियो भने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएर आयआर्जनसमेत गर्न सकिने उहाँको विश्वास छ।

श्रेष्ठले विशेषगरी वर्षभरि मनाइने जात्रा–पर्वमध्ये महत्वपूर्ण दशैंको ऐतिहासिक खड्ग जात्रालाई लक्षित गर्दै कम्तीमा १५ देखि २० जना युवा कलाकार उत्पादन गर्ने लक्ष्य अघि सार्नुभएको छ। यसका लागि इच्छुक युवाहरूलाई प्रशिक्षणमा सहभागी हुन आह्वान गरिएको छ। उहाँका अनुसार अहिले नै युवाहरू संगठित भएर सिक्न थालेमा केही महिनाभित्रै जात्रा–पर्वमा आवश्यक पर्ने कलाकार तयार गर्न सकिन्छ।

दोलखाको सांस्कृतिक इतिहासमा म्वाहारी (सनई) बाजाको विशेष स्थान छ। विशेषगरी नेवार समुदायका धार्मिक तथा सांस्कृतिक कार्यक्रम, देवदेवीका जात्रा, गुठीका गतिविधि तथा विभिन्न शुभ अवसरहरूमा यसको प्रयोग हुँदै आएको छ। म्वाहारीको मधुर धुन बिना धेरै परम्परागत अनुष्ठानहरू अपूर्ण मानिन्छन्। तर समयसँगै आधुनिक वाद्यवादन र बदलिँदो जीवनशैलीका कारण परम्परागत बाजाप्रतिको आकर्षण घट्दै गएको छ।

दोलखामा संस्कृति संरक्षणका क्षेत्रमा सक्रिय व्यक्तिहरूले श्रेष्ठको पहललाई अत्यन्त सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार परम्परागत रूपमा निश्चित समुदाय वा परिवारमा सीमित रहेको सीपलाई सबै युवामाझ विस्तार गर्ने प्रयासले संस्कृति जोगाउन ठूलो योगदान पु¥याउनेछ। यसले सांस्कृतिक सम्पदालाई पुस्तान्तरण गर्ने मात्र नभई सामाजिक एकता र सामुदायिक सहभागितालाई समेत बलियो बनाउने विश्वास गरिएको छ।

बाँपिझ्याला डटकमले यस अभियानसँग सम्बन्धित विशेष भिडियोसमेत सार्वजनिक गरेको छ। भिडियोमार्फत दोलखाको सांस्कृतिक सम्पदा, म्वाहारी बाजाको महत्व तथा यसको संरक्षणमा जुट्नुपर्ने आवश्यकताबारे सन्देश प्रवाह गरिएको छ। संस्कृति संरक्षणको अभियानलाई व्यापक बनाउन भिडियो हेरी सामाजिक सञ्जालमार्फत धेरैभन्दा धेरै सेयर गर्न आग्रह गरिएको छ।

दोलखाको मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको म्वाहारी (सनई) बाजा जोगाउन राजेन्द्रनारायण श्रेष्ठले थालेको यो अभियान अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। स्थानीयवासीहरूका अनुसार यदि यस्तै प्रयास निरन्तर अगाडि बढेमा लोपोन्मुख अवस्थामा पुगेका परम्परागत बाजा तथा सांस्कृतिक परम्पराले पुनः नयाँ जीवन पाउनेछन्। यसले केवल एउटा बाजा मात्र जोगाउने छैन, दोलखाको सांस्कृतिक पहिचानलाई समेत भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्नेछ।

यसैबीच युवा समाजसेवी श्रेष्ठले दोलखाली नेवार समुदायको नेपाल (नेवार) भाषा, संस्कृति, परम्परा तथा जात्रापर्व संरक्षण र प्रवद्र्धनमा निरन्तर योगदान पु¥याउँदै आएको बाँपिझ्याला मिडियाप्रति विशेष आभार व्यक्त गर्नुभएको छ। उहाँले बाँपिझ्याला डटकमले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत दोलखाको मौलिक संस्कृति, परम्परा र समुदायका गतिविधिलाई प्राथमिकताका साथ उजागर गर्दै आएको उल्लेख गर्दै सम्पूर्ण बाँपिझ्याला परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

उहाँले स्थानीय भाषा, कला, संस्कार, जात्रा र सांस्कृतिक सम्पदाको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता प्रयासले नयाँ पुस्तालाई आफ्नो पहिचान र संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार