नेपाल सम्वत् ११४६, यंलागाः ११, नवमी (२१ असोज २०८३, ७ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । नेपालीको मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले यस वर्षको दसैँमा देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ।
दसैँका अवसरमा मौलिक सांस्कृतिक परम्पराको संरक्षण, प्रवर्धन तथा सांस्कृतिक पर्यटनलाई थप आकर्षक बनाउने उद्देश्यले बोर्डले यस्तो कार्यक्रम अघि बढाएको हो। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौं उपत्यकासहित देशका विभिन्न पर्यटकीय क्षेत्रमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघ–संस्थासँगको सहकार्यमा लिङ्गे पिङ निर्माण गर्ने जनाएको छ।
यस कार्यक्रमका लागि बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल, होटल व्यवसायी महासंघ लगायत विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघ–संस्थासँग सहकार्य गरेको छ।
सम्झौताअनुसार पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गरी दसैँ अवधिभर सञ्चालन गरिनेछ। पिङमार्फत नेपाली समाजमा पुस्तौँदेखि चलिआएको दसैँको मौलिक परम्परालाई पर्यटकसमक्ष समेत प्रस्तुत गर्ने बोर्डको उद्देश्य छ।
बोर्डका अनुसार लिङ्गे पिङ निर्माण तथा सञ्चालनका क्रममा सुरक्षा व्यवस्था, भीड व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका आवश्यक उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित स्थानीय तह तथा संस्थाले पिङ सञ्चालनका क्रममा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ।
त्यस्तै, दसैँको कार्यक्रम सम्पन्न भएपछि निर्माण गरिएका पिङ हटाई सम्बन्धित स्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ।
नेपालको मौलिक संस्कृति र चाडपर्वलाई पर्यटनसँग जोडेर पर्यटकलाई स्थानीय जीवनशैली, परम्परा र सांस्कृतिक गतिविधिको प्रत्यक्ष अनुभव गराउने प्रयासका रूपमा बोर्डको यो कार्यक्रमलाई हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij