Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

दोलखामा घण्टाकर्ण (गाठामा) पर्व सम्पन्न, यस वर्ष जोशी परिवारको पालो

दोलखामा घण्टाकर्ण (गाठामा) पर्व सम्पन्न, यस वर्ष जोशी परिवारको पालो

नेपाल सम्वत् ११४६, दिल्लागाः १४ चर्तुदशी (२६ साउन, २०८३, ११ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । ऐतिहासिक नगरी दोलखामा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व घण्टाकर्ण अर्थात् ‘गाठामा’ विधिपूर्वक सम्पन्न भएको छ। श्रावण कृष्णपक्ष चतुर्दशीका दिन मनाइने यो पर्व दोलखामा वर्षभरि सञ्चालन हुने विभिन्न जात्रा तथा पर्वको सुरुवाती जात्राका रूपमा लिइन्छ।

यस वर्ष घण्टाकर्ण जात्रा सञ्चालन गर्ने पालो ढोकुलुङा टोलका जोशी परिवारको रहेको थियो। परम्पराअनुसार तलेजु भवानी मन्दिरमा विशेष पूजाआजा सम्पन्न गरेपछि घण्टाकर्णको प्रतिमालाई बाजागाजासहित दोलखा बजारबाट बाहिर छेरप्वाले भन्ने स्थानसम्म तानेर लगिएको थियो। त्यहाँ पुर्‍याएपछि प्रतिमालाई जलाएर पर्वको मुख्य विधि सम्पन्न गरिएको हो।

gathama15.jpg

घण्टाकर्णको प्रतिमा स्थानीय रूपमा उपलब्ध गाजाको बोटलगायत सामग्री प्रयोग गरी तयार गरिन्छ। प्रतिमाको अनुहार भने नाङ्लोमा राक्षसको आकृति बनाएर सजाउने परम्परा छ। तलेजु भवानी मन्दिरमा पूजाआजा गरेपछि प्रतिमाको घाँटीमा खुकुरीले तीनपटक काट्ने र त्यसपछि तानेर घिसार्दै बजारबाहिर लैजाने मौलिक परम्परा दोलखामा अझै कायम छ।

घण्टाकर्ण पर्वसँगै दोलखामा विश्वकर्माले घर–घरमा फलामको करुवा र औँठी ल्याई मूलढोकामा करुवा ठोकिदिने तथा परिवारका सदस्यलाई औँठी लगाइदिने परम्परा पनि रहेको छ। यसलाई घरपरिवारको सुरक्षा र अशुभ शक्तिबाट बचाउने सांस्कृतिक विश्वाससँग जोडेर हेर्ने गरिन्छ।

गुठी परम्परासँग जोडिएको घण्टाकर्ण

घण्टाकर्ण जात्रा सञ्चालनका लागि ऐतिहासिक रूपमा सरकारले गुठीको व्यवस्था गरेको इतिहास पाइन्छ। तत्कालीन समयमा कालिञ्चोक खर्क, गैरी, मेहले, कुरी, टुटान, थामी र देउरालीमा गोठ राखेबापत उठाइने करबाट जात्रा सञ्चालन गर्ने व्यवस्था गरिएको उल्लेख छ।

इतिहासअनुसार नेपालका तत्कालीन राजा राजेन्द्रविक्रम शाहले विसं १८८६ वैशाख १४ गते बिहीबार घण्टाकर्ण गुठीका लागि लालमोहर लगाएका थिए। गुठी सञ्चालनका लागि डोकुलुङ, डोकछेँ, कोरछेँ, बिहारछेँ, गुर्कोट र पिङ्गलका स्थानीय बासिन्दालाई गुठियार नियुक्त गरिएको थियो।

परम्परागत रूपमा घण्टाकर्ण गुठीअन्तर्गत भीमेश्वर देवस्थानमा दुई बोका, त्रिपुरासुन्दरीमा एक बोका र एक राँगो तथा तलेजु भवानी मन्दिरमा एक बोकाको बलि चढाउने चलनसमेत रहेको छ।

पछिल्लो समय गुठीका लागि तोकिएका स्थानबाट आवश्यक आयस्ता तथा सामग्री जुटाउन कठिन हुँदै गए पनि भीमेश्वर नगरपालिका, स्थानीयवासी, विभिन्न संघसंस्था र गुठियारहरूको सहयोगमा जात्राको निरन्तरता कायम राखिँदै आएको छ।

दोलखामा घण्टाकर्ण पर्व धार्मिक आस्था र पूजाआजामा मात्र सीमित छैन। यो दोलखाको मौलिक नेवारी संस्कृति, गुठी परम्परा, सामाजिक सहभागिता र सामुदायिक एकताको जीवन्त पहिचानका रूपमा समेत स्थापित छ। पुस्तौँदेखि चलिआएको यही सांस्कृतिक परम्पराको निरन्तरतास्वरूप यस वर्ष पनि ढोकुलुङा टोलका जोशी परिवारको पालोमा घण्टाकर्ण (गाठामा) पर्व सम्पन्न भएको हो।

 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार