नेपाल सम्वत् ११४६, यंलागाः १२, त्रयोदशी (२२ असोज २०८३, ८ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौंले आफ्नो संगठन विस्तारलाई निरन्तरता दिँदै टोखा नगर समिति गठन गरेको छ। चिनबहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय टोखा नगर समिति गठन गरिएको हो। संघ काठमाडौंअन्तर्गत गठन भएको यो दोस्रो नगर समिति हो।
तारकेश्वर नगरपालिका–४ स्थित कछुवा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा टोखा नगर समिति गठनसँगै तारकेश्वर नगर समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
कार्यक्रममा ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठुलो बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा महासंघका उपाध्यक्ष संशोदिन शेख विशेष अतिथि तथा वस्तुगत उपाध्यक्ष रूपेन्द्र बानियाँ र केन्द्रीय महासचिव विवेकदास श्रेष्ठ अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष भरत लामिछानेले गर्नुभएको थियो।
प्रतिकूल मौसम तथा चाडबाडको मुखमा समेत टोखा क्षेत्रका २३ जना व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। व्यस्त समय र प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायीहरूको उत्साहजनक उपस्थितिलाई सहभागीहरूले संस्थाप्रतिको चासो, विश्वास र सक्रियताको सकारात्मक संकेतका रूपमा लिएका छन्।
कार्यक्रमकै क्रममा एक जना नयाँ व्यवसायी संघको सदस्यसमेत बनेका छन्। नयाँ सदस्यको प्रवेशले ग्रील तथा स्टिल व्यवसायीहरूबीच संगठनप्रतिको आकर्षण बढ्दै गएको तथा संस्थाको संगठन विस्तारले निरन्तरता पाइरहेको देखाएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ठुलो बाबु श्रेष्ठले ग्रील तथा स्टिल व्यवसायीहरूको साझा संस्था तीन दशक लामो इतिहास, संघर्ष र व्यवसायीहरूको योगदानबाट निर्माण भएको बताउनुभयो। उहाँले संस्थाको गरिमा, इतिहास र संस्थागत मूल्य–मान्यताको संरक्षण सबै व्यवसायीको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
श्रेष्ठले संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर विधि, विधान र संस्थागत मर्यादाअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले व्यवसायीबीचको एकता, सहकार्य र आपसी विश्वास नै संस्थाको मुख्य शक्ति भएको बताउँदै व्यक्तिगत स्वार्थका कारण संस्थालाई कमजोर बनाउने गतिविधि नगर्न आग्रह गर्नुभयो।
त्यसैगरी, केन्द्रीय महासचिव विवेकदास श्रेष्ठले नगर समिति गठनको मुख्य उद्देश्य सम्बन्धित नगरपालिकामा रहेका ग्रील तथा स्टिल व्यवसायीलाई संस्थासँग प्रत्यक्ष रूपमा जोड्नु रहेको बताउनुभयो। स्थानीय तहमा रहेका व्यवसायीको सहभागिता र उपस्थिति प्रभावकारी बनाउन नगरस्तरमै संगठन विस्तार आवश्यक रहेको उहाँको भनाइ थियो।
नगर समिति गठन भएको क्षेत्रमा नै कार्यक्रम आयोजना गर्दा स्थानीय व्यवसायीहरूको सहभागिता अझ बढ्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सम्बन्धित क्षेत्रमै कार्यक्रम सञ्चालन गरी बढीभन्दा बढी व्यवसायीलाई संस्थाको गतिविधिमा जोड्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका विभिन्न समस्या, स्थानीय तहसँगको समन्वय, व्यवसायीको हकहित, संगठन विस्तार तथा संस्थागत एकताका विषयमा आफ्ना धारणा राखेका थिए। व्यवसाय सञ्चालनका क्रममा देखिएका व्यावहारिक समस्या समाधानका लागि संस्थागत पहल आवश्यक रहेको उनीहरूले बताएका थिए।
नवगठित टोखा नगर समितिले टोखा क्षेत्रमा रहेका ग्रील तथा स्टिल व्यवसायीलाई एउटै संस्थागत छातामुनि संगठित गर्दै व्यवसायीका साझा समस्या समाधान, हकहित संरक्षण तथा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमका वक्ताहरूले तीन दशक लामो संस्थागत इतिहासलाई संरक्षण गर्दै व्यक्तिगत स्वार्थभन्दा संस्थागत हित, विवादभन्दा सहकार्य र विभाजनभन्दा एकतालाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
टोखा नगर समिति गठनसँगै ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौंको संगठनात्मक विस्तारले थप गति लिएको छ। प्रतिकूल मौसम, चाडबाडको समय र व्यवसायीहरूको व्यस्तताबीच पनि देखिएको उल्लेख्य सहभागिता तथा नयाँ सदस्यको प्रवेशले संगठनप्रति व्यवसायीहरूको बढ्दो चासोलाई थप स्पष्ट पारेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij