नेपाल सम्वत् ११४६, गुंल्लागाः २, द्वितिया (१४ भाद्र २०८३, ३० अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । प्राचीन शहर भीमेश्वर नगर दोलखाको सांस्कृतिक जीवनसँग गहिरोसँग जोडिएको भैरव–कुमारी रात्रीकालीन जात्रा आजदेखि सुरु हुँदैछ। भाद्र कृष्ण द्वितीयादेखि षष्ठीसम्म पाँच दिन सञ्चालन हुने यो जात्रा प्रत्येक रात करिब ९–१० बजेदेखि सुरु भएर बिहान ३–४ बजेसम्म चल्ने परम्परा रहेको छ। नेपालभरि नै युद्धकलाको शैलीमा प्रस्तुत गरिने यस्ता जात्रा अत्यन्तै कम भएकाले भैरव–कुमारी जात्रालाई दोलखाको मात्र होइन, नेपालको मौलिक सांस्कृतिक सम्पदाका रूपमा समेत लिने गरिन्छ।
दोलखाका पुराना टोल, गल्ली र डबलीहरूमा भैरव, कुमारी र विभिन्न गणहरू बाजागाजासहित नाच्दै शहर परिक्रमा गर्ने यो जात्रा केवल मनोरञ्जन वा धार्मिक अनुष्ठान मात्र होइन। यो दोलखाको इतिहास, जनविश्वास, तान्त्रिक परम्परा, सामुदायिक एकता र सांस्कृतिक पहिचानको जीवित दस्तावेज हो।
भैरव–कुमारी जात्राको उत्पत्तिसँग जोडिएको कथा सयौं वर्ष पुरानो मानिन्छ। स्थानीय जनश्रुति अनुसार प्राचीन दोलखाको दुङ्गल क्षेत्रमा सिन्धु र बिन्दु आचार्य नामका दुई तान्त्रिक दाजुभाइ बसोबास गर्थे। उनीहरू दैनिक रूपमा तामाकोशी नदीमा स्नान गरेर पूजा–आराधना गर्थे। एक दिन नदी किनारमा उनीहरूले तीन अत्यन्त सुन्दर कन्या देखे। ध्यान गरेर हेर्दा ती साधारण कन्या नभई त्रिपुरासुन्दरी, बालकुमारी र कालिञ्चोक भगवती रहेको थाहा पाएपछि उनीहरूलाई दोलखा ल्याएको विश्वास गरिन्छ।
कथाअनुसार ती तीन देवीलाई भीमेश्वर मन्दिर पछाडिको रानीवन क्षेत्रको ओढारमा राखिएको थियो। तर त्यसपछि आसपासका क्षेत्रमा मानिस र पशुपक्षीहरू मर्न थाले। बस्तीमा त्रास फैलियो। स्थानीयवासीले यसलाई दैवी प्रभावका रूपमा बुझे। त्यसपछि तान्त्रिकहरूले तीनै देवीलाई एउटै स्थानमा नराखी अलग–अलग स्थानमा स्थापना गर्ने निर्णय गरे।
जेठी त्रिपुरासुन्दरीलाई हालको त्रिपुरासुन्दरी क्षेत्रमा, माहिली बालकुमारीलाई दोलखा शहरको बस्तीभन्दा दक्षिण क्षेत्रमा र कान्छी कालिञ्चोक भगवतीलाई अहिलेको कालिञ्चोक डाँडामा स्थापना गरिएको विश्वास गरिन्छ।
तीन देवीमध्ये बालकुमारीलाई सबैभन्दा चञ्चल स्वभावकी देवी मानिन्छ। जनविश्वास अनुसार उनी रातो वस्त्र लगाएर बेलाबेलामा नगरमा घुमिरहन्थिन्। स्थानीय नेपाल (नेवार) भाषामा उनलाई “हेगउ कुमारी“ अर्थात् रातो कुमारी पनि भन्ने गरिन्छ।
त्यस समय दोलखा नगरमा अकाल मृत्यु, रोगव्याधि र विभिन्न विपत्तिहरू बढ्न थाले। बालबालिका र वयस्कहरू रहस्यमय ढंगले मर्न थालेपछि नगरवासी त्रसित बने। यसपछि स्थानीय बासिन्दाले तान्त्रिक विद्वान विद्यानन्दको सहयोग लिए। विद्यानन्दले देवीसँग संवाद गर्दा आफूलाई उचित सम्मान र हेरचाह नपाएकाले रिसाएर यस्तो भएको बालकुमारीले बताएकी थिइन् भन्ने किंवदन्ती छ।
किंवदन्ती अनुसार विद्यानन्दले देवीलाई नियन्त्रण गर्न एउटा योजना बनाए। उनले देवीलाई एउटा खाडलमा राखी विशेष तान्त्रिक विधिबाट बाँध्ने प्रयास गरे। देवीलाई फलामको साङ्लाले बाँधिएको थियो भने आफूलाई चामलको पिठोबाट बनाइएको साङ्लाले बाँधिएको देखाए। अन्ततः देवीलाई भूमिगत स्थानमा सीमित गरिएको र भविष्यमा बाहिर निस्कन कठिन हुने शर्त राखिएको कथन छ।
यद्यपि यस घटनापछि देवी र स्थानीय समुदायबीच नयाँ सम्बन्ध स्थापित भएको विश्वास गरिन्छ। शिवभक्ति परिवारले बालकुमारीलाई आफ्नो कुलदेवीका रूपमा स्वीकार गरे र त्यसयता विशेष धार्मिक जिम्मेवारी यही परिवारले निर्वाह गर्दै आएको छ।
किंवदन्ती अनुसार एक दिन शिवभक्ति परिवारकी एक महिलामा देवीको आवेश आयो। उनले आफू बालकुमारी भएको र आफूमाथि अन्याय भएको बताइन्। त्यसपछि स्थानीय समुदायले देवीसँग क्षमा माग्दै वर्षमा एकपटक नगर परिक्रमा गर्ने अवसर दिने सहमति ग¥यो। यही सहमतिबाट भैरव–कुमारी जात्राको सुरुवात भएको मानिन्छ।
सुरुमा तीन दिनसम्म मात्र जात्रा निकालिन्थ्यो। पछि पञ्चमी र षष्ठी थपिएपछि पाँच दिनसम्म मनाउन थालियो। यो परम्परा आजसम्म कायम छ।
स्थानीय विश्वास अनुसार बालकुमारी देवी अत्यन्त शक्तिशाली र चञ्चल भएकाले उनलाई नियन्त्रणमा राख्न भैरवलाई साथमा राखिएको हो। त्यसैले आज पनि जात्रामा भैरव सधैं अगाडि र कुमारी पछाडि नाच्ने गर्छिन्। कुमारीले भैरवलाई उछिनेर अगाडि जान नपाउने परम्परा रहेको छ।
भैरव–कुमारी जात्रामा कुमारी, भैरव, राजा इन्द्र, घोडाचढी, नायिका, ध्वजावाहक, जाल फाल्ने, नाक काट्ने लगायत विभिन्न पात्र सहभागी हुन्छन्। परम्पराअनुसार १५ जनाको मुख्य गण रहने र अधिकांश सदस्य शिवभक्ति परिवारकै हुनुपर्ने मान्यता छ।
जात्राको क्रममा अगाडि सेना र विभिन्न गणहरू नाच्दै हिँड्छन् भने पछाडि भैरव र कुमारी बाजाको तालमा नृत्य गर्छन्। यही युद्धशैलीको प्रस्तुति नै यस जात्राको सबैभन्दा ठूलो विशेषता मानिन्छ।
भैरव–कुमारी जात्रालाई महिलाको आस्था र मनोकामनासँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। स्थानीय विश्वास अनुसार जात्राको दर्शन गरेपछि मनोकामना पूरा हुने भएकाले धेरै महिलाहरू व्रत बस्ने गर्छन्। परिवारको सुख–शान्ति, सन्तानको दीर्घायु, पितृहरूको आत्मा शान्ति तथा ग्रहदोष निवारणको कामनासहित रातभर जात्रा हेर्ने चलन छ।
भैरव–कुमारी जात्रा कहिलेदेखि सुरु भयो भन्ने ठोस ऐतिहासिक प्रमाण नभेटिए पनि स्थानीय परम्परा अनुसार यसको सुरुवात वि.सं. १७८२–८३ तिर भएको मानिन्छ। अर्थात् यो जात्राले करिब तीन शताब्दीको यात्रा पूरा गरिसकेको छ।
धार्मिक विश्वास, तान्त्रिक किंवदन्ती, सामुदायिक सहभागिता र सांस्कृतिक निरन्तरताको अद्वितीय मिश्रणका रूपमा रहेको भैरव–कुमारी जात्रा आज पनि दोलखाको पहिचान बनेर जीवित छ। पाँच रातसम्म चल्ने यो रात्रीकालिन जात्राले फेरि एकपटक दोलखा नगरलाई जाग्राम बनाउनेछ र नयाँ पुस्तालाई आफ्नै इतिहास र संस्कृतिसँग जोड्ने अवसर प्रदान गर्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij