Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

दल परिवर्तनको असर : दोलखाका दुई वडा अध्यक्ष पदमुक्त

दल परिवर्तनको असर : दोलखाका दुई वडा अध्यक्ष पदमुक्त

नेपाल सम्वत् ११४६, यंलाथ्वः ५, पञ्चमी (३१ भाद्र २०८३, १६ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला ।  दल परिवर्तन गरेपछि दोलखाका दुई वडा अध्यक्ष पदमुक्त भएका छन्।

निर्वाचन आयोगले भदौ ३० गते गरेको निर्णयअनुसार जिरी नगरपालिका–३ का वडा अध्यक्ष खेटराज घिमिरे र वडा नं. ६ का वडा अध्यक्ष मरिजबहादुर खड्का पदमुक्त भएका हुन्।

घिमिरे तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट तथा खड्का नेकपा (एकीकृत समाजवादी) बाट २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए। निर्वाचित भएपछि उनीहरू दुवैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्धता जनाएका थिए।

उनीहरू निर्वाचित भएको दल त्यागेर अर्को राजनीतिक दलमा प्रवेश गरेको भन्दै सम्बन्धित राजनीतिक दलका तर्फबाट निर्वाचन आयोगमा उजुरी तथा पत्राचार गरिएको थियो। सोही आधारमा आयोगले स्थानीय तह सदस्य निर्वाचन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार दुवै जनाको पद रिक्त भएको निर्णय गरेको हो।

निर्वाचन आयोगको निर्णयसँगै जिरी नगरपालिका–३ र ६ नम्बर वडाको वडा अध्यक्ष पद रिक्त भएको छ। रिक्त पदमा कानुनी व्यवस्था अनुसार आगामी दिनमा उपनिर्वाचन हुने वा अन्य प्रक्रिया अपनाइने विषय आयोगको निर्णय तथा सरकारी कार्यतालिकाअनुसार तय हुनेछ।

पदमुक्त भएका खेटराज घिमिरे हाल राष्ट्रिय स्वतन्त्र पार्टीको जिरी नगर समितिको सभापतिको जिम्मेवारीमा रहेका छन्। मरिजबहादुर खड्काले पनि रास्वपामार्फत राजनीतिक गतिविधि जारी राख्दै आएका छन्।

निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल परिवर्तन गर्दा हुने कानुनी परिणामबारे पुनः चर्चा सुरु भएको छ। नेपालको संविधान तथा स्थानीय तह सम्बन्धी कानुनी व्यवस्थाअनुसार जुन दलको चुनाव चिह्नबाट निर्वाचित भएको हो, त्यस दल त्यागेर अर्को दलमा प्रवेश गरेमा पद गुम्न सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार