दोलखाको ऐतिहासिक तथा धार्मिक सम्पदाका रूपमा परिचित राजा भीमेश्वरलाई आजदेखि भण्डारबाट निकालेर परम्पराअनुसार कोट्छें परिवारको आफ्नै कुलघरमा विराजमान गराइएको छ।
वि.सं. २०५२ सालमा रहस्यमय रूपमा हराएको राजा भीमेश्वरको मूर्ति लामो समयसम्म बेपत्ता रहेको थियो। स्थानीयवासी, गुठियार तथा सरोकारवालाहरूको निरन्तर प्रयासपछि उक्त मूर्ति वि.सं. २०८० सालमा पुनः फेला परेर दोलखा फर्काइएको थियो। मूर्ति फर्किएपछि यसको सुरक्षा तथा संरक्षणलाई प्राथमिकता दिँदै भण्डारमा सुरक्षित रूपमा राखिएको थियो।
परम्परागत धार्मिक विधि, पूजा–आराधना तथा स्थानीय गुठी व्यवस्थाअनुसार आजदेखि राजा भीमेश्वरलाई कोट्छें परिवारको कुलघरमा स्थानान्तरण गरी विधिपूर्वक स्थापना गरिएको हो। यस अवसरमा स्थानीय भक्तजन, गुठियार, ज्यापु समुदायका प्रतिनिधि तथा विभिन्न श्रद्धालुहरूको उपस्थितिमा विशेष पूजा तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको थियो।
राजा भीमेश्वर दोलखावासीहरूको आस्था, इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा मानिन्छ। लामो समयपछि पुनः प्राप्त भएको यस मूर्तिलाई परम्पराअनुसार कुलघरमा राख्न पाउँदा स्थानीय समुदायमा खुसीको वातावरण छ। यस घटनालाई दोलखाको सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्स्थापनाको महत्वपूर्ण उपलब्धिका रूपमा समेत हेरिएको छ।
स्थानीयवासीका अनुसार राजा भीमेश्वरसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक परम्परा पुस्तौँदेखि निरन्तर चलिआएको छ। त्यसैले मूर्तिको पुनःस्थापनाले केवल धार्मिक महत्व मात्र नभई स्थानीय समुदायको ऐतिहासिक स्मृति, सांस्कृतिक निरन्तरता र पहिचानलाई समेत थप सुदृढ बनाएको विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij