नेपाल सम्वत् ११४६, दिल्लागाः ९ नवमी (२२ साउन, २०८३, ७ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार सेवा प्रदायकहरूलाई आठबुँदे कडा निर्देशन जारी गरेको छ।
दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम प्राधिकरणको २०८३ साउन २१ गतेको निर्णयअनुसार जारी निर्देशनमा सेवा प्रदायकहरूले नेटवर्कको गुणस्तर, विश्वसनीयता तथा ग्राहक सेवा अनुभवमा सुधार गरी तोकिएका मापदण्ड पूरा भए–नभएको नियमित प्रतिवेदन प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले ग्राहकका गुनासा २४सै घण्टा सुनुवाइ गर्न कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नवीनतम प्रविधिको प्रयोग गर्न निर्देशन दिएको छ। साथै, गुणस्तरीय सेवा नपुगेका क्षेत्रलाई प्राथमिकतामा राखी नेटवर्क विस्तार गर्न र सेवा पुगेका स्थानहरूको विवरण त्रैमासिक रूपमा नेपालको नक्सामा अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ।
निर्देशनअनुसार देशभर फोरजी सेवाको गुणस्तर सुधार गर्दै प्रमुख शहरहरूबाट चरणबद्ध रूपमा फाइभजी सेवा सञ्चालन गर्ने योजना पनि सेवा प्रदायकहरूले पेस गर्नुपर्नेछ।
त्यस्तै, फ्रिक्वेन्सी तथा दूरसञ्चार पूर्वाधारको अधिकतम उपयोग गरी दोहोरो लगानी न्यूनीकरण गर्न, साइबर सुरक्षाका लागि नियमित ‘सिक्युरिटी अडिट’ सञ्चालन गर्न तथा विपद् व्यवस्थापन योजना तयार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ।
यसबाहेक, बजारमुखी र पारदर्शी शुल्क प्रणाली विकास गर्न लागतमा आधारित विश्लेषण गरी नयाँ सेवा शुल्क प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा यी सबै निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij