नेपाल सम्वत् ११४६, तछलागाः १ प्रतिपदा (१७ अषाढ, २०८३, ०१ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । दोलखा जिल्लाको शैलुङ गाउँपालिकाले शैलुङको चर्चित पर्यटकीय गन्तव्य मिनी ग्रेटवाल भ्रमण गर्न जाने पर्यटकबाट आगामी साउन १ गतेदेखि प्रवेश शुल्क लिने भएको छ। गाउँपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै कालापानी हुँदै मिनी ग्रेटवाल क्षेत्रमा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रति व्यक्ति ५० रुपैयाँ शुल्क संकलन गरिने जनाएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेद्वारा हस्ताक्षरित सूचनाअनुसार यो व्यवस्था शैलुङ गाउँपालिकाको आर्थिक ऐन, २०८३ बमोजिम लागू गर्न लागिएको हो। गाउँपालिकाले मिनी ग्रेटवालको नियमित मर्मत–सम्भार, सरसफाइ, संरक्षण तथा पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि प्रवेश शुल्क संकलन गर्न लागिएको जनाएको छ। पछिल्ला वर्षहरूमा शैलुङमा पर्यटकको चाप बढ्दै गएकाले त्यहाँको पूर्वाधारलाई दिगो रूपमा व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको गाउँपालिकाको भनाइ छ।
यद्यपि, सबैलाई भने प्रवेश शुल्क लाग्ने छैन। गाउँपालिकाले दोलखाको मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिका तथा रामेछापको दोरम्बा–शैलुङ गाउँपालिकाका स्थायी बासिन्दालाई प्रवेश शुल्कमा पूर्ण छुट दिने व्यवस्था गरेको छ। साथै विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने सूचनामा उल्लेख छ।
शैलुङ गाउँपालिकाले यसअघि पनि प्रवेश शुल्क लागू गर्ने प्रयास गरेको थियो। गत आर्थिक वर्षमै गाउँ कार्यपालिकाले मिनी ग्रेटवाल हुँदै शैलुङ जाने पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको भए पनि स्थानीय र पर्यटन व्यवसायीको विरोधपछि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन। दोलखातर्फ प्रवेश शुल्क लागू गर्दा पर्यटकहरू निःशुल्क रहेको रामेछापतर्फको मार्ग प्रयोग गर्न सक्ने र त्यसले दोलखातर्फको पर्यटन व्यवसायमा असर पर्ने तर्क गर्दै स्थानीयले विरोध जनाएका थिए। त्यसपछि गाउँपालिकाले आफ्नो निर्णय फिर्ता लिएको थियो।
यसपटक भने गाउँपालिकाले आर्थिक ऐनमै व्यवस्था गरेर शुल्क लागू गर्न लागेको हो। स्थानीय सरकारका अनुसार संकलित रकम मिनी ग्रेटवालको संरक्षण, नियमित सरसफाइ, मर्मत–सम्भार, पदमार्ग व्यवस्थापन तथा पर्यटकमैत्री सेवा विस्तारमा खर्च गरिनेछ।
शैलुङको मिनी ग्रेटवाल पछिल्ला केही वर्षयता आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बनेको छ। करिब ५०० मिटर लम्बाइ रहेको यो संरचना संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको हो। आयोजनामा संघीय सरकारले करिब ३ करोड ५० लाख रुपैयाँ र गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। यद्यपि, मिनी ग्रेटवाल निर्माण कार्य अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन।
प्राकृतिक सौन्दर्य, हरियाली डाँडाकाँडा, मनोरम हिमाली दृश्य र शैलुङको धार्मिक तथा सांस्कृतिक महत्वका कारण यहाँ हरेक वर्ष हजारौं पर्यटक पुग्ने गरेका छन्। गाउँपालिकाले प्रवेश शुल्कबाट प्राप्त हुने आम्दानीलाई पर्यटकीय पूर्वाधारको संरक्षण र गुणस्तर अभिवृद्धिमा प्रयोग गरी शैलुङलाई थप व्यवस्थित र आकर्षक गन्तव्य बनाउने लक्ष्य लिएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij