नेपाल सम्वत् ११४६, अनलागाः ५ पञ्चमी (२२ जेष्ठ, २०८३, ५ जुन, २०२६) शुक्रबार, बाँपिझ्याला । झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोलामा गत जेठ १६ गते मृत अवस्थामा फेला परेकी २१ वर्षीया रमा तिवारीको हत्या शारीरिक सम्बन्धका लागि तय गरिएको रकमको विषयमा विवाद भएपछि भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्यस्थित अररिया ग्रामपञ्चायत घर भई हाल दमक–५ मा बस्दै आएका ३३ वर्षीय राकेशकुमार पण्डित पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकको संयुक्त अनुसन्धानबाट घटनाको रहस्य खुलेको हो। प्रहरीका अनुसार रमा तिवारी र राकेशकुमार पण्डितबीच दमक–९ स्थित चियादोकान चोक क्षेत्रमा भेटघाट भएको थियो। प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच शारीरिक सम्बन्ध राख्ने सहमति भएको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार भेटघाटपछि दुवै जना दमक–५ स्थित झाडी क्षेत्रमा पुगेका थिए। त्यसअघि एटिएमबाट पैसा निकालिएको तथ्यसमेत अनुसन्धानमा खुलेको छ। तर शारीरिक सम्बन्धका लागि तय गरिएको रकमको विषयमा विवाद भएपछि झगडा भएको र सोही क्रममा पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हत्या जेठ १३ गते राति करिब ११ बजे भएको थियो। हत्या गरेपछि आरोपित पण्डित आफ्नो डेरामा पुगेर शव व्यवस्थापनका लागि बोरा र पाइप ल्याएको तथा मोटरसाइकलसमेत परिवर्तन गरेर शवलाई करिब १५ किलोमिटर टाढा रहेको रतुवा खोलामा पु¥याई फालेको अनुसन्धानबाट खुलेको छ। तिवारीको शव भने तीन दिनपछि जेठ १६ गते खोलामा बोराभित्र पोको पारिएको तथा सडेर दुर्गन्धित अवस्थामा फेला परेको थियो।
अनुसन्धानका क्रममा हत्या भएको भोलिपल्ट बिहान पण्डित दमक–६ स्थित पशुपति मन्दिरमा पुगेर पूजा तथा क्षमायाचना गरेको देखिएको प्रहरीले जनाएको छ। उनी मन्दिर पुगेको दृश्य सिसिटिभी फुटेजमा समेत कैद भएको बताइएको छ।
प्रहरीका अनुसार शव फेला परेको दिन आरोपित भारत गएको र केही दिनपछि पुनः दमक फर्किएको देखिएको थियो। निरन्तर निगरानी र अनुसन्धानपछि बिहीबार इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले उनलाई उनकै डेराबाट पक्राउ गरेको हो।
हाल पण्डितविरुद्ध ज्यानसम्बन्धी कसुर तथा जबरजस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तस्बिरः जिल्ला प्रहरी कार्यालय झापा ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij