नेपाल सम्वत् ११४६, बछलाथ्वः १५ प्रतिपदा (१९ बैशाख, २०८३, २ मे, २०२६) शनिवार, बाँपिझ्याला । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी र दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको छ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सूचना प्रविधि अब सुशासन, सेवा प्रवाह, आर्थिक विकास र नागरिक सशक्तीकरणका लागि आधारभूत आवश्यकता बनिसकेको उल्लेख गर्नुभयो।
उहाँले सूचना प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई शुभकामना दिँदै डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्न सरकार अघि बढिरहेको बताउनुभयो। सार्वजनिक सेवा प्रणालीलाई अझ सरल, पारदर्शी र नागरिकमैत्री बनाउनेतर्फ सरकार केन्द्रित रहेको उहाँको भनाइ छ।
मन्त्री तिमिल्सिनाले दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण, डिजिटल सार्वजनिक पूर्वाधारको विकास र नागरिक एपलाई थप प्रभावकारी बनाउने काम भइरहेको जानकारी दिनुभयो। नागरिकले एउटै डिजिटल प्लेटफर्ममार्फत अत्यावश्यक सरकारी सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार गरिँदैछ।
नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डाटा अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रीय केन्द्र बनाउने लक्ष्यसहित राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति र कानुनी संरचना सुधारलाई तीव्रता दिइएको उहाँले बताउनुभयो।
देशभर उच्च गतिको ब्रडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डाटा सेन्टर सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि र दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन घटाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। साथै, सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना र आर्थिक वृद्धिको नयाँ आधारका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
डिजिटल रूपान्तरणका लागि सरकारसँगै निजी क्षेत्र, शैक्षिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम र नागरिकको सहकार्य आवश्यक रहेको भन्दै उहाँले सबैलाई साझा यात्रामा सहभागी हुन आह्वान गर्नुभएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij