Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

दोलखा–सिंगटी सडक दुई सातादेखि सुचारु नहुदा उत्तरी भेगका वासिन्दा प्रभावित

दोलखा–सिंगटी सडक दुई सातादेखि सुचारु नहुदा उत्तरी भेगका वासिन्दा प्रभावित

नेपाल सम्वत् ११४४, गुँलाथ्वः ७, (२७ साउन, २०८१) आईतबार, बाँपीझ्याला । पहिरोले अवरुद्ध भएको दोलखा–सिंगटी सडक दुई सातादेखि सुचारु हुन नसक्दा दोलखाको उत्तरी क्षेत्रमा रहेका तीन गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।

दोलखा–सिंगटी सडकको झर्मासी (गुमुखोला) खण्डमा साउन ३ गतेको पहिरोले आदि भन्दा बढी सडक बगाएपछि साउन १२ गतेदेखि उत्तरी क्षेत्रका यातायात अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

कालिञ्चोक गाउँपालिकाको वडा नम्बर–४ र ७ जोड्ने झर्मासी (गुमुुखोला) खोला पुलसंगैबाट झण्डै दुई सय मिटर सडक आधाभन्दा बढी बगाएपछि उत्तरी क्षेत्रका तीन पालिकाका बासिन्दालाई आवत जावतमा समस्या भएको कालिञ्चोक गाउँपालिकाका उपप्रमुख कुलबहादुर बुढाथोकीले बताउनुभयो ।

सडक मर्मतको लागि डिभिजन सडक कार्यालय चरिकोटले केही दिनअघि ठेक्कामार्फत काम सुरु गरे पनि द्रुत गतिमा काम अघि नबढेकोले अझै केही साता यातायात सुचारु नहुने अवस्था रहेकोले स्थानीय चिन्तित छन् ।

यातायात अवरुद्ध हुँदा तीन गाउँपालिकाको २२ वडाका झण्डै ५० हजार स्थानीय प्रभावित भएको र उत्तरी क्षेत्रका मुख्य व्यापारिक केन्द्र सिंगटी बजारको ढुवानी पूर्ण रुपमा ठप्प भएको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले बताउनुभयो ।

यातायात ठप्प भएपछि झर्मासी खोलाबाट खाद्यान्न लगायतका सामान बोकेर वारिपारि गर्नुपर्ने अवस्था रहेको र यसले मूल्य अस्वभाविक रुपमा बढेर उपभोक्ताहरू मारमा परेको श्रेष्ठको भनाई छ ।

डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर भरत श्रेष्ठ सडक मर्मतको लागि कार्यालयले ठेक्कामार्फत काम सुरु गरेकोले एक÷डेढ हप्तामा अस्थायी रुपमा यातायात सञ्चालन गर्न सकिने बताउनुहुन्छ । उक्त क्षेत्रमा निक्कै जोखिम रहेकोले पूर्ण रुपमा सडक मर्मत गर्न भने लामै समय लाग्ने र त्यसको लागि थप अध्ययन गरी काम अघि बढाइने इन्जिनियर श्रेष्ठको भनाई छ ।

कालिञ्चोक गाउँपालिकाका उपप्रमुख कुलबहादुर बुढाथोकी भने उक्त क्षेत्रमा निक्कै जोखिम रहेकोले अहिले अस्थायी रुपमा यातायात सुचारु गरेर स्थायी समाधानको लागि अर्को विकल्पको अध्ययन हुनुपर्ने बताउनुहुन्छ ।

सिंगटी बजार जोखिममा
कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ स्थित सिंगटी बजारको सडक खण्डमा माथिबाट पहिरो खसेकोले बजार समेत जोखिममा रहेको स्थानीय बताउँछन् । अविरल वर्षा कायम रहेर थप पहिरो खस्यो भने सिंगटी बजारसँगै चीन सरकारको सहयोगमा बनेको कालिनाग मावि सिंगटीको भवन, सिंगटी अस्पताल र विद्युतको हाईटेन्सन लाइनको तीन वटा टावर समेत उच्च जोखिममा पर्ने कालिञ्चोक गाउँपालिकाको उपप्रमुख कुलबहादुर बुढाथोकी बताउनुहुन्छ ।

जोखिमबारे डिभिजन सडक कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइएको तर चासो नदेखाएको उपप्रमुख बुढाथोकीको भनाई छ । पालिकाले पहिरो नियन्त्रणको काम गर्न सम्भव छैन, उपप्रमुख बुढाथोकीले भन्नुभयो – “यसको लागि डिभिजन सडक कार्यालय, माथिल्लो तामाकोशी आयोजना लगायतले चासो दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार