Oct 08 2026 | २०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

दोलखाको बाँझो खेतबारीमा असर्फी फलाऔं

दोलखाको बाँझो खेतबारीमा असर्फी फलाऔं

हिजोआज चरिकोट सातदोबाटोबाट र टुँडिखेलको डिलबाट दोलखाको दक्षिणतिर नजर दौडाउँदा न त पहेँलपुर धानका फाँट देखिन्छ, न त हरियाली कोदोको नल सहित खैरो रंगको कोदोका कपनी झुलेको देखिन्छ, जे देखिन्छ त्यो स्वयं उम्रेका पोथ्रा र बुट्यानहरू मात्र । अनि कतै कतै धानको पराले कुन्यूँ र पूmङ्ग उडेका ढिस्काहरू मात्र ।

किसानको जीवन नै आनन्दमय संसार ठान्ने बुढापाकाका सन्तानहरू बालुवामा घाँस उमारेर बसन्त बहारको सृजना गर्न मरुभूमिमा खेताला बन्न विदेशतिर लागे । कोही विद्वानको पगडी गुँथेर उहिलेका नेपाल शहरमा जमीन किनेर महल बनाउन रातोदिन समय खर्चिन शहरको गल्लीतिर भौँतारिंदै काठमाडौंबासी बन्न थाले ।

फलाम जोतेर सून फलाउने पौरखी पूर्खाका सन्तानहरू हरियो सागपात उमार्न अल्छी मानेर हरिया पत्ता खेलाउन परदेशी मालिकलाई सगरमाथा जस्तो उच्च शिर निहुर्याएर भोलिको खान्दानी हुनेखानेको दर्जामा हुत्तिन थाले फलस्वरुप करेसाबारीको हरियो लसुन, साग, काउली, बोडी, सिमी, भटमास, केराउ, गोलभेंडा किन्नलाई महिनौं कुरेर ताजा खान पल्के ।

त्यही हातलाई बाहारवली, बिष्नती, ओदानओली, चापती, जाङलवती, गगरबुँ, चिसलती, चिखाबुँ, फिबुँ, खेल्बुँ, राम्पा, डोकथली, दुल्बुँ, खर्दी, कुल्सीग्वार, डाङ्गर, माने, थिलिबुँ, ख्वार्सीओली, नस्कनस्वाँरा, परपुल, गुबुँ तिर चलाउने जाँगर भैदिएको भए शायद कृषि प्रधान देशको एउटा नमूना हुने थियो होला ।

समय बदलियो । सबै किसानका छोराछोरीहरू किसानी बन्न चाहेनन्, सबैले शिक्षा प्राप्त गर्न मन गरे, पखेटा नउम्रिउन्जेल सम्म अलि राम्रो पढेर उच्च शिक्षा हासिल गर्छु अनि गाउँठाउँकै सेवा गरेर स्वच्छ जीवन बिताउन गाउँपाखामै केही इलम गर्ने अठोट लिनेहरू शहर पसेपछि त्यहाँको सेवा सुविधा देखेर गोडा चलाउन अल्छी मान्न थाले ।

झन् केही कोहीले खाडीमा गएर, युरोपेली देश, एसियाको छत्रछायाँमा पुगेर आएर यसो शहरमा घर बनाए रे भनेको सुनेपछि त के गाउँ फर्किन मन गर्थे र, सबैजना त्यही पाखो बाली समेत धितो राखेर कुद्रन थाले मलेशिया, साउदी, ओमन, कतार, अरब, कुवेत, दुबइ अनि अलि बढी नै खर्च गर्न ह्याउ हुनेहरूले ताक्न थाले जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया अनि केको याद आउँथ्यो र घरको भ¥याङ् जस्तो पाखो खेतको ।

भोलि फर्केपछि त त्यही उराठिलो, फुङ्ग उडेको पाखोबारीमा साग पाँच छ मूठा उमारि राखेको भए मन दुखाइ दुखाइ विदेशमा मेहनत गरेको पैसा त खर्च गर्नपर्ने थिएन नि, डाँडा माथिको घाम जस्तो वृद्धवृद्धा बाबुआमाले सके पो उमारी राख्लान् नत्र त्यो हरियो डलर पकाएर घाँटीबाट निलिने त होइन होला नि ।

नेपाल सरकारले जागीर दिन सकेन, देशमा उद्योग धन्दा छैन, यहाँको तलबले त टिका लाउन पुग्दैन अनि विदेशमा नगएर के गर्नु त भन्नेहरूलाई पाठ सिकाउने धेरै छन् नेपालमा, पशुपालन गरेरै दर्जनों परिवार पाल्नेहरूको कमी छैन, सागपात बेचेरै काठमाडौं शहरमा घर बनाउनेहरू पनि ज्यूँ का त्यूँ छन् तर पनि विदेशी मोहमा फसेपछि माटोको अस्तित्व, मूल्य मान्यता भुल्दा रहेछन् । यसैको परिणाम हो हिजोआज खेतका फाँटहरू रुखा र सुख्खा हुनुमा ।

एउटा नाटकीय श्रृङ्खला छ नि– “घोप्टे काजी हुँ म, एउटा छोरो यूकेमा, एउटा छोरो अष्ट्रेलियामा अनि अर्को छोरो अमेरिकामा, कोही डाक्टर, कोही इन्जिनियर अनि अर्को ठूला व्यापारी..” तर…. जब त्यही बाबुको अन्तिम यात्रामा समेत समाहित हुन पाउँदैन भने विदेशमा जे जतिसुकै कमाएर रमाउनुको के अर्थ रह्यो र !

हो त्यही वृद्ध बाबुआमा जस्तै बनेको छ दोलखाका खेतका फाँटहरू । विज्ञान प्रविधिले मान्छेलाई चन्द्रमामा मात्रै होइन मंगल ग्रहमा मानव बस्ती बसाउने बाटो देखाइरहेको बेलामा हामीले दोल्तीको पानी डोक्थली सम्म तान्ने प्रयास गर्न साहस जुटाउँदैनौं, तामाकोशीको पानी वैज्ञानिक प्रविधलिे कालिन्चोकको टापूमा पुर्याउन सक्छ, हामीले घुम्टारा सम्म ल्याउन पहल गर्न सक्दैनौं भने, क्यानडामा गएर इन्जिनियरमा विद्यावारिधि गरेको दोलखाली छोरो भनेर के नाक ठड्याइ भयो र !

चामलको बोरा किन्न पनि सिन्धुलीको बाटो र काठमाडौको बाटो हेरेर आन्द्रा सुकाउनु छ भने मेरो चालिसपचास मूरी धान फल्ने जमीन छ भनेर के पूmइँ लगाउनू र ! मेरो त सारा सन्तान नै विदेशमा छ आपूm काम गर्न सक्दिन, दोलखाको खेतबारी पुख्र्यौली सम्पत्ति हो, बाँझै होस् न त के गर्नु अब, भन्ने विद्वानहरूले त्यही खेतमा नयाँ प्रविधि अपनाएर कुनै ससाना उद्यम, पशुपालन, तरकारी खेती, वृक्षारोपन गर्न लगाएपनि त सदुपयोग हुन्थ्यो । केही व्यक्तिले रोजगारी पाउँथे ।

अन्न उब्जाएर फाइदाजनक नभएपनि अर्को केही विकल्प त निकाल्न सकिन्छ होला नि, जस्तो कि दोलखाको करन्धी भन्ने ठाउँ एकताका उराठिलो भिरालो चउर थियो, कता कता बनमाराको बुट्यान थियो, तीन किलोमीटर परको स्याल कुद्दा पनि देखिने खाली ठाउँ थियो जहाँ अहिले वन विभागले वृक्षारोपण गरेपछि कति हरियाली बनेको छ, कति उपयोगी बनेको छ । त्यो नजरले हेरिएमा दोलखाका खेतका फाँटहरू पनि पक्कै शोभनीय हुनेछ जस्तो लाग्छ ।

अब यदि दोलखामा साँच्चै नै कृषि उब्जनी बढाउने नै हो भने फेरि पनि विगतमा जस्तै हराभरा दोलखा बनाउने नै हो भने कृषि विज्ञहरूसंग उचित परामर्श गरेर माटो सुहाउँदो अन्नबाली उब्जनी गर्नका लागि स्थानीस्य सरकार र केन्द्रीय सरकारको मातहतमा समन्वय गरेर उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने देखिन्छ । यसको लागि दोलखाबाट बाहिर रहेर आफ्नो कर्म गरिरहेका युवाहरूले पनि कृषिका लागि केही समय खर्चिनु पर्ने देखिन्छ ।

अर्को कुरा कृषि उत्पादन बढाउनका लागि चक्लबन्दी प्रणाली अपनाउन सके सबैका लागि उत्तम उपाय हुनेछ । ठाउँ ठाउँमा ट्याक्टर जाने सडकको निर्माण हुन आवश्यक छ । सडक निर्माणको क्रममा जजसको जग्गा मापदण्डमा पर्न जान्छ त्यसको लागि क्षतिपूर्तिको व्यवस्था पनि स्थानीय सरकार र स्थानीय जनताकै समन्वयमा परिपूर्ति गर्ने निष्कर्ष निकाल्न सक्नुपर्छ । सिंचाइको लागि क्षेत्र हेरेर पोखरी या तलाउ बनाएर पानी संकलन गर्ने र आलोपालो खेती गर्न सकिने अवस्थाको सृजना गर्न सकिन्छ ।

सन्दर्भ अहिले दोलखाको केही खेतमा धान चुटेर पराल, धान ओसार्न ट्र्याक्टरको प्रयोग भैरहेको छ, कतै कतै खेत खनजोत गर्न पनि ट्याक्टरकै प्रयोग भएको देख्न सुन्नमा आएको छ, मानवीय श्रोत शक्तिको कमीलाई प्रविधिले केह िसहजता बनाएको छ । यसलाई पनि विधि पुर्याएर सडक मार्ग बनाएर एउटा सामुदायिक समूह बनाएर भएपनि समय र मौसम अनुसारको जुनसुकै खेती गर्न सकिन्छ ।

ज्याला नै उठ्दैन भन्दैमा अन्नबालीलाई मात्र दोष लगाएर दोलखाको खेत बाँझो राख्न खोज्नु हाम्रै कमजोर सिद्ध हुन्छ । मौसमी खेतीको हिसाबले उन्नत जातका मकै, धान, कोदो, गहु आदि । फलपूmलमा हिजोआज निस्केका किबी, एभोगाड, अम्बा, सुन्तला जस्ता व्यापारी हिसाबले पनि उब्जनी गर्न सकिन्छ । खाली धान नै फल्दैन भनेर आकाशको तारा गनेर बस्नुभन्दा दीर्घकालीन उपयोगी खेती गर्ने मनशाय राख्न सक्नुपर्छ ।

त्यस्तै वृक्षारोपणको हिसाबले गुराँसको खेती पनि गर्न सकिन्छ जसलाई एक पटक मात्र दुःख गरे पुग्छ । गुराँसबाट अनेकौं फाइदा र उपलब्ध हुन्छ । जानियो भने गुराँसको जरादेखि पूmल र पात मात्र नभएर पात र काठ सबै अूल्य तत्व बनेर आउँछ । गुराँसको जूस पिउनाले हृदय रोगी, पत्थर र चूर्णले ग्रसित बिमारीलाई धेरै उपयोगी हुन्छ ।

त्यस्तै दोलखामा खोल्साखाल्सी कुलोको प्रयोग भएको ठाउँमा मजिटो, पहेँली जस्ता लहरामा झाँगिने बोट लगाए पनि उपयोगी हुन्छ , मजिटोलाई दोलखा भाषामा “मेनठी” भन्ने गर्छाैं । यसको लहराबाट मानिसहरूले करोडौं आम्दानी गरिरहेको छ । हिजोआज दोलखाको झोर, खोल्सा र भञ्ज्याङतिर मजिटो पाउन छाडेको छ । शायद धेरैलाई यसको उपयोगिताको जानकारी छैन होला, यो लहरा किन लोप भए भनेर पनि त्यत्ति थाहा नहोला । यसको बारेमा यहाँ अहिले बताइने छैन ।

अहिले जैविक विशेषज्ञहरू यत्रतत्र छ, कुन अन्नलाई कस्तो माटो उपयोगी हुन्छ भनेर परीक्षण गरेर पनि कृषि उत्पादन गर्न सकिन्छ । वातावरण अनुकूल कुन माटोमा कस्तो फलपूmल उमार्न सकिन्छ भन्नेकुरा विज्ञहरूसंग सरसल्लाह र छलफल गरेर हरेक तरिकाले दोलखालाई उर्वर भूमि बनाउनका लागि सबैको एक मत होस् र खेतका कान्ला आलीमा बाह्रमासे अन्नबाली, तरकारी बाली, फलपूmल उब्जनी होस् हाम्रो यही शुभकामना !

बालकृष्ण श्रेष्ठ “पासा”
हाल काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार