कल्पना श्रेष्ठ महर्जन
पौराणिक कालदेखिको ग्रन्थमालामा हेर्दा पनि महिलालाई जननी अर्थात् आमाको रुपमा जति चर्चा र सम्मान गरिएको भए पनि काकी, फूपु, ठूलीआमा, सानीआमा, आमाजु, जेठानी, देवरानी, भाउजू, नन्द आदि ईत्यादि नातामा केही उतारचढाव भएको पाईन्छ । चाहे महाभारत ग्रन्थमा होस् या रामायणमा, कृष्ण चरित्रमा होस् या भागवत् गीतामा, कतै न कतै कुनै न कुनै तवरले आमा र अरु साइनोमा फरक दृष्टिकोण रहेको पाईन्छ ।
अमूर्त सम्बोधन गरिने महिलाको पारिवारिक वर्गीकरणमा विशेषतः आमाको प्रमुख सम्मान हुने गरेको छ, यो तर्कसंगत कुरा हो । यो हुनु पनी पर्छ, आमा बिनाको संसार संसार हुँदैन र हुनेछैन पनि । आमाको आत्मसम्मानमा कदापि ठेस पुर्याउनु हुन्न, यो एकदमै महत्त्वपूर्ण कुरा हो । आमा जननी हुन्, महतारी हुन्, यथार्थमा आमा भनेको सिङ्गो धर्ती हो, ब्रम्हाण्डका श्रृष्टिकर्ता हुन्, आमाले सन्तानको लागि कर्तव्यबोधको पाठ पढाउँछ, ताकि समान र असमान छुट्याउन सकुन् ।
आमाको नजरमा आफ्ना सन्तान जे जस्तोसुकै र जतिसुकै भएपनि सबैलाई समान नै हुन्छ, चाहे जेठा देखि अन्तरे जन्तरे किन नहोस्, कसैलाई काखाँ र कसैलाई पाखाँ राख्दिनन् आमाले यो ध्रुवसत्य कुरा हो ।
तर ती तिनै आमा हुन् जुन आमाले अर्की आमाकी छोरी अर्थात् बुहारीलाई देखि नसहनु, कतै दाईजोको कारणले हेला, कतै आर्थिक विपन्नताको कारणले घृणा, कतै सामाजिक प्रतिष्ठाको लागि शोषण जस्ता अमानवीय व्यवहार गर्ने गरेको पाईन्छ । यी कुराहरु हाम्रै समाजमा देखिंदै आएको छ, ती आमाले त्यस्ता कुरालाई भुलिदिन्छन् कि आफू पनि कुनै बेला बुहारी बनेर भित्रिएकी थिइन् भनेर । सामाजिक रुपमा जे जस्तोसुकै स्नेह र ममता दर्शाए पनि घर भित्र प्रवेश गरि सकेपछि आफ्नो हैकमवादी अधिकार प्रयोग गर्न पछि पर्दैनन् ती आमाहरु ताकि उनी पनि कसैकी छोरी नभै स्वर्गबाट झरेर आएकी हुँदी हुन् ।
एउटा चिन्तनको विषय यो छ कि हरेक आमामा बुहारीले छोरालाई एकत्रित पारेर आफूलाई अलग नगरुन् भन्ने धारणाको कारण, अर्कोतर्फ हेर्दा बुहारी भनेको अर्काकी छोरी हुन् धेरै माया र स्नेह दिंदा समाजले आडम्बरी भाव दर्शाउलान् कि भनेर, तर समाजका अन्य महिला वर्गले बुहारीलाई न त धेरै माया गरेको नै पच्छ न त अवहेलना गरेको नै, उनीहरूलाई त कुनै न कुनै निहुँ चाहिन्छ तिललाई पहाड बनाएर पँधेरो, पर्म, बिस्कुन्, चौतारीमा झ्याली पिटाउन पाए पुगिहाल्छ । यी यस्ता कुराबाट अलग हुन हरेक आमाले बेलैमा सोच्नुपर्ने हुन्छ, त्यो स्थानमा आफू रहँदाको अवस्था के हुन्छ भनेर ।
आमाको नजरले ती कुरालाई पूर्णरूपमा ध्यान दिनु जरुरी छ कि बुहारी र छोरीमा के फरक छ भनेर, ज्वाईंले छोरीलाई अलिकति पनि कष्ट पीडा दियो भने आफ्नी छोरीको कर्तुत, गल्तीलाई ढाकछोप गरेर ज्वाइँ या सम्धी सम्धिनीलाई तथानाम भनेर बेइज्जत गर्ने, आफ्नो छोरो अलिकति परिवर्तन भयो भने बुहारीलाई दोष लगाएर घरमा उद्दण्ड मच्चाउने गर्दा फाइदा कसलाई हुन्छ र ! यस्ता कुरामा हरेक आमाहरुले बुझ्नुपर्छ ।
अब घर भित्रका पारिवारिक सम्बन्धमा हेर्दा पनि नन्द भाउजू र आमाजु बुहारी बिचमा हुने आलोचनात्मक टीका टिप्पणीले हाम्रो समाजमा जरा गाडिएको देखिन्छ । नन्द या आमाजु हुनेले बुहारी या भाउजूको चियो चर्चा गर्ने, अनि अनावश्यक बखेडा सृजना गरेर आधिपत्य जमाउने खोज्ने महिलाहरु पनि हाम्रो समाजमा नभएका होईन्न पर्याप्त छ ।
आफू चाहिँ बारम्बार माइती आईरहने तर बुहारी या भाउजूलाई माइत जान अनुमति नदिने, बुहारी हुनेले पनि बारम्बार माइतीघरको रहनसहनको बयान गरेर पति लगायत आमाजु नन्दको बदनाम गर्ने र बाहिर बाहिर नानाथरी कुरा भट्याएर हिंड्ने गर्दा दोस्रो समाजका लागि घातक हुनजान्छ, नकि ती व्यवहारले आफ्नै घर कलंकित बन्न पुग्छ ।
बुहारी हुनेले पतिलाई चुम्बकीय वस्तु जसरी राखेर सासू ससुरो नन्द आमाजु माथि अनेक लाञ्छना लगाएर हिंड्दा बेफाइदा अरुलाई होइन आफैंलाई हुने हो, किनकि सकारात्मक दृष्टिकोणले हेर्ने समाजले गल्तीको मूल्यांकन गरेर बुहारीलाई नै दोषी ठह¥याएमा बेइज्जती त आफ्नै हुने हो यस्तो अवस्थामा बुहारीलाई भित्र्याउने दाजुभाइ छोरा जोसुकैले सोच्नुपर्ने हुन्छ कि आफ्नो घरमा आफ्नी श्रीमतीको व्यवहार र व्यहोरा कस्तो छ भनेर ।
हामीले समस्टिगत रुपमा समाजमा रहेपछि सामाजिक मर्यादा र अनुशासन पालन गर्न सक्नुपर्छ, ’ आफू भलो त जगतै भलो’ भन्ने उखान चरितार्थ गर्नको लागि आफ्नो स्थानलाई सुरक्षित र संयमित बनाउन सक्नुपर्छ जान्नुपर्छ । हाम्रो समाजमा धेरै कुराको परिवर्तन गर्न अझै बाँकी छ, सही मार्ग र सही तर्कमा आफूलाई उभ्याउन हामी स्वयं सचेत हुन जरुरी छ । पत्नीलाई घरभित्रै कैदी जस्तो बनाएर सर्वेसर्वा काम गर्न वाध्य पार्ने पुरुषले पनि यो कुरा बुझ्न जरुरी छ कि समाजमा पुरुषको मात्रै वर्चस्व हुनुपर्छ भन्ने सोच गलत हो ।
पुरुषले यो कुरालाई मनन गर्न जरुरी छ कि मदर टेरेसा, फ्लोरेन्स नाईटिङ्गेल, ईन्दिरा गांधी, पारीजात, अष्ट लक्ष्मी शाक्य जस्ता नारीहरु छिंडीमा बसेर चर्चित बनेका होइनन्, हिजोआज महिला राष्ट्रपति, महिला प्रधान्यायाधिस, महिला पाईलट धेरै ठाउँमा बनेका छन्, यी कुरालाई हुदयङ्गम् गरेर नारीलाई स्वतन्त्रता दिन जरुरी छ ।
अर्काको घर जाने त हो नि, किन पढ्नु पर्यो भनेर छोरीलाई पढ्नबाट वंचित गराउने, सभा सम्मेलनमा जानुको कुनै अर्थ छैन भनेर गृहबन्दी गराउने घरको पुरुष होस् या अभिभावक सबैलाई उचित चेतना दिलाउन जरुरी छ, तबमात्र हरेक घर परिवारमा पारिवारिक वातावरण सुन्दर बन्नेछ ।
––––––––––––––––––––––––––––––––––––––––
जन्मघर : भिमेश्वर नपा–२ दोलखा,
कर्मघर : कामनपा –२ लाजिम्पाट, काठमाडौ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij