नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) बुधबार, बाँपिझ्याला । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव को २३ औं संस्करण बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ। पाँच दिनसम्म सञ्चालन हुने महोत्सव ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टर मा आयोजना गरिएको हो।
यस वर्षको महोत्सव भारतकी निर्देशक त्रिवेणी राई निर्देशित पुरस्कारप्राप्त फिल्म छोरा जस्तै को नेपाल प्रिमियरबाट उद्घाटन हुँदैछ। फिल्मले गाउँ फर्किएकी एक पात्रको आत्मपहिचान र परम्पराबीचको द्वन्द्वलाई चित्रण गरेको छ।
महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक फिल्म प्रदर्शन गरिनेछन्। ‘नेपाल पानोरमा’ खण्डमा नेपाली समाज र समकालीन जीवनलाई प्रस्तुत गर्ने फिल्महरू समावेश गरिएको आयोजकले जनाएको छ।
महोत्सव निर्देशक रम्यता लिम्बू का अनुसार यस वर्षको किम्फले मनोरञ्जनसँगै सामाजिक विषयमा गम्भीर संवादलाई प्राथमिकता दिएको छ।
नेपाल–स्विट्जरल्याण्ड कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको अवसरमा ‘अल्पाइन अलायन्सेसः न्यु वेभ अफ नेपाली सिनेमा’ शीर्षकमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा अविनाशविक्रम शाह, मीन भाम तथा निर्माता रामकृष्ण पोखरेल सहभागी हुनेछन्।
त्यस्तै, ‘ह्वाट्स इन अ स्टोरी–सिनेमा एन्ड सेन्सरशिप’ विषयमा प्यानल छलफल पनि आयोजना गरिनेछ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित क्लाइम्बिङ फर लाइफ विशेष प्रदर्शन गरिनेछ। यो फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेई को जीवनमा आधारित छ।
महोत्सवमा काठमाडौं डक ल्याब, छोटा फिक्सन ल्याब, स्क्रिप्ट पिचिङ फोरम तथा युवाकेन्द्रित ‘आशाः ड्रीम्स इन मोसन’ कार्यक्रम पनि समावेश छन्।
अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा दीप्ति डी’कुन्हा, चलिदा उअबुमरुङ्जित, कुमार नगरकोटी र लुका बिच रहेका छन्।
महोत्सव जेठ १७ गतेसम्म सञ्चालन हुनेछ। सर्वसाधारणका लागि टिकट शुल्क १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij