
नेपाल सम्वत् ११४५ बछलाथ्वः ११ (बैशाख २५, २०८२ ) मे ८, २०२५ ,बिहिबार, बाँपीझ्याला ।शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को भव्य प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भयो। एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी र शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न प्रिमियरले चलचित्रप्रति उच्च उत्साह देखायो।
प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्री केकी अधिकारी, अञ्जना बराइली लगायतको उपस्थिति थियो। प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई र निर्देशक नवीन चौहानसहित सम्पूर्ण टिम उपस्थित रहे।

चलचित्र हेरेपछि अतिथिहरूले सकारात्मक प्रतिक्रिया जनाए। उपसभामुख राना मगरले चलचित्रले प्रेमको गहिरो भाव प्रस्तुत गरेको बताउँदै प्रशंसा गरिन्। दयाहाङ राईले चलचित्रलाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए भने शोबिता गौतम र केकी अधिकारीले चलचित्रको कथा, दृश्य र निर्देशनको प्रशंसा गरे।
कलाकारहरू पनि भावुक देखिए। विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए भने मिरुना मगरले दर्शकबाट न्यानो माया पाएको अनुभव सुनाइन्। एलेक्स पारसले पहिलो चलचित्रमै यस्तो प्रतिक्रिया पाउँदा उत्साहित भएको बताए। निर्देशक चौहानले दर्शकको आत्मीय प्रतिक्रिया शब्दमा व्यक्त गर्न गाह्रो भएको बताए।

चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बिक्री देशभर सुरु भइसकेको छ। वितरक गोविन्द शाहीका अनुसार देशभर ३०० भन्दा बढी शो पाएका छन्। “फूल”, “मखमली” र “काफ्ले” जस्ता गीतहरू सामाजिक सञ्जालमा लोकप्रिय छन्। आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको यो चलचित्रले नेपाली समाजको विविधता र प्रेमकथालाई समेट्ने प्रयास गरेको निर्देशकको भनाइ छ। चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij